मन छुने आमा



विदुर गिरी
प्रेम र रोमान्सको विषय होस् या मानवीय संमवेदनाको, घर–परिवारको विषय होस् या गाउँ समाजको, दर्शकलाई आकर्षित गर्न सिनेमाले मन छुनुपर्छ।
यस्तै मन छुने विषयमा एउटा गतिलो सिनेमा बनेको छ आमा।
सिनेमाको नाम सुन्दा सबैलाई लाग्न सक्छ यो केवल आमाको विषयमा बनेको सिनेमा हो। तर, भिन्दाभिन्दै ३ आमालाई पात्रका रूपमा खडा गरी निर्माण गरिएको आमा, केवल आमाकै विषयमा मात्र केन्द्रित छैन। भिन्दाभिन्दै घरको कथा र परिवेश अनि पारिवारिक संरचना, आर्थिक उन्नतिका लागि बिदेसिएका नेपालीको पीडा र संघर्षको कथासँगै सरकारी अस्पतालको लापरबाही र कमिसनको चक्करमा बिचौलिया कारण बिरामीको परिवारले भोग्नुपर्ने दुःखका साथै सेवाभाव भन्दा पनि व्यावसायिक फाइदाका लागि अस्पतालहरूले गर्ने तिकडमका विविध कथा एउटै सिनेमाभित्र अटाएका छन् यसको निर्देशक तथा लेखक दीपेन्द्र के खनालले।
आमाको कथाअनुसार उज्ज्वल भविष्यको कल्पना गरेर दलालको फन्दा परी कष्टपूर्ण ढंगले बिदेसिएको छोराकी आमा भ¥याङबाट लडी गम्भीर घाइते हुन पुगेका पतिको उपचारका लागि छोरी र ज्वाइँको सहयोगमा सरकारी अस्पताल पुग्छिन्। उपचारका लागि सरकारी अस्पतालमा यथेष्ट उपकरण नभए पनि उनी बिचौलियाको माध्यमले निजी अस्पतालमा पुग्छिन्। अनि शुरू हुन्छ सिनेमाको मुख्य कथा। यसै त निजी अस्पताल, त्यसमाथि उसको ध्येय नै छ केवल पैसा कमाउनु। यसको प्रत्यक्षमा मारमा भने बिरामीकी पत्नी र उनको परिवार पर्छ। पत्नीले आफूसँग भएको सारा रकम बुझाए पनि पतिको उपचारका लागि कम नै हुँदै जान्छ। अमेरिकामा गैरकानुनीरूपमा बसिरहेको छोराले आफूले जम्मा गरेको सँगै सरसापट गरेको रकम पनि सो अस्तालको महँगो शुल्कका कारण अपुग नै हुन्छ। पतिको गिर्दौ स्वास्थ्य अवस्था र अस्पतालको सधैं रकमका लागि गर्ने किचकिचका बीच उपचार अगाडि बढ्छ। पतिको स्वास्थ्यमा सुधार पनि आउँछ। तर, केही दिनमै फेरि अर्को समस्या थपिन्छ।
यता आमा र बहिनीको अनुरोधमा छोराले रकम पठाइरहन्छ। छोरीले देवरसँग समेत सापटी लिएर उपचारलाई अगाडि बढाउँछे। तर, अहँ जति रकम थपे पनि बिल थपिएको थपियै। छोरी र ज्वाईंको यथेष्ट साथ र सहयोगका बाबजुद बिरामी पितादेखि आमा तथा अस्पताल प्रशासन र समाजले जहिले छोरा खोजिरहन्छन्। छोरा भने कानुनी समस्याका कारण अमेरिकाबाट फर्कनै सक्दैन। पछि गएर ऊ रकम पठाउनसमेत असमर्थ हुन्छ। कहानीले अर्कै मोड लिइसक्छ। तर पनि छोरा फर्कन सक्दैन। यतिन्जेलसम्म सिनेमाले धेरै ठाउँमा रुवाइसकेको हुन्छ।
अर्को आमा तीन बिरामीको पत्नीकी छोरीको कथा भिन्दै छ। देउरानीको सन्तान भइसक्दासमेत उनी आमा बन्न सक्दिनन्। टेस्टट्युब बेबीका लागि प्रयास चलिरहेको हुन्छ। तर, यस्तो मोड आउँछ, जसका कारण उनले सन्तान सुखको चाहनालाई तिलाञ्जली दिनुपर्ने हुन्छ। सँगै अस्पतालमै अर्की एक आमा छिन्। जसले आफ्नो माया प्रेमलाई सार्थक तुल्याउन घर–परिवार त त्याग्छिन् नै, भिन्न समुदायको भएकै कारण पतिको घरमा बस्नबाट पनि वञ्चित पारिन्छिन्। आमा त भएकी छिन्, तर न आफ्नै सन्तानलाई छातीमा टाँस्न पाउँछिन्, न त पतिसँगै जीवन व्यतित गर्न पाउँछिन्। यी सबै कसरी, किन? ती घाइते बाबु र उनकी पत्नीको अवस्था कस्तो हुन्छ, सन्तान जन्माउने चाहना भएकी आमा बन्न नसकेकी बिनासन्तानकी आमा साँच्चिैकै आमा हुन्छिन् कि हुँदिनन्? प्रेमलाई गन्तव्य दिन फरक समुदायको युवासँग बिहे गरेर आमा भएकी अर्की आमाको पतिसँग मिलन हुन्छ कि हुँदैन? उनले सन्तानलाई अंगालोमा लिन पाउँछिन् कि पाउँदिनन्? यी सबै प्रश्नको जवाफका लागि भने आमा नै हुेर्नुुको मज्जा भिन्दै हुन सक्छ।
यी सबै सिनेमाको मूल कथा हो। मूल कथालाई अगाडि बढाउने क्रममा थुप्रै सहकथा आउँछन्, जान्छन्, दर्शकलाई आफ्नो या आफ्नो नजिकैको कथाको अनुभूति गराउँदै।
सिनेमाको कथा नौलो नलागे पनि यसको प्रस्तुति भने नौलो र गहिरो लाग्छ। पटकथा चुस्त र संवाद मार्मिक लाग्छ। सिनेमाभित्र गीत खासै छैन, तर जति छ सार्थक लाग्छ। संगीत त्यस्तै कारुणिक लाग्छ। निर्देशक स्वयंको छायांकनले फिल्मलाई बलियो बनाएको छ भने सम्पादन पनि चुस्त लाग्छ।
अभिनय पक्षको कुरा गर्दा अभिनेत्री मिथिला शर्मा धेरै समयपछि सिनेमामा देखिएकी छिन् र धेरै समयसम्म सम्झिनलायक काम देखाएकी छिन्। सुरक्षा पन्त, सरिता गिरी, लक्ष्मी भुषाल र मनीष निरौला स्वाभाविक लाग्छन् भने देशभक्त खनालले अभिनय गर्ने ठाउँ जति पाएका छन्, यादगार काम गरेका छन्। टीका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अस्मिता खनाल, सुदीप खतिवडा, झकेन्द्र जीसी, विकास खनालले आफ्नो ठाउँमा राम्रो काम गरेका छन्।
निर्देशन पक्षको कुरा गर्दा सानो विषयमा ठूलो फ्रेमको सिनेमा निर्माण गर्न निर्देशक खनाल सफल देखिएका छन्। सीमित लोकेसन र सीमित कलाकारलाई लिएर उनले जसरी एउटा गम्भीर विषयमा फरक–फरक पृष्ठभूमिका आमाहरूलाई जोडेर सार्थक सिनेमा तयार पारेका छन्, त्यसका लागि उनी स्याबासीको पात्र बन्न सफल भएका छन्। सिनेमा विभिन्न सिचुएसनलाई थप मार्मिक बनाउन अस्पतालभित्र र बाहिर सडकमा लगाएको क्यामरामा एंगल, झमझम वर्षात् भएको र त्यसमा रुझ्दै औषधि किन्नका लागि दौडधूप गरिरहेकी आमा जस्ता दृश्यमा निर्देशकले मेहनत गरेका छन्।
आमाभित्र
निर्माण संस्था ः डीएस डिजिटल
निर्मात्री ः शर्मिला पाण्डे
लेखन, निर्देशन तथा छायांकन ः दीपेन्द्र के खनाल
संगीत ः सुवास भुषाल
गीतकार ः भूपेन्द्र खड्का
सम्पादन ः दीर्घ खड्का
कलाकारहरू ः मिथिला शर्मा, सुरक्षा पन्त,  सरिता गिरी, देशभक्त खनाल, मनीष निरौला, लक्ष्मी भुषाल, टीका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अस्मिता खनाल, सुदीप खतिवडा, झकेन्द्र जीसी र विकास खनाल

प्रतिक्रिया दिनुहोस्