बंगलादेशमा मोदीको प्रस्तावित भ्रमण र दिल्ली दंगाको विरोध

0
Shares

ढाका, (एजेन्सी)
भारतको राजधानी नयाँदिल्लीमा केही दिन यतादेखि फैलिएको साम्प्रदायिक हिंसाको विरोधमा बंगलादेशमा शनिबार व्यापक विरोध प्रदर्शन भएको छ।
बंगलादेशका केही इस्लामिक राजनीतिक पार्टीले दिल्ली हिंसाको विरोधमा देशभर प्रदर्शन गरेका हुन्।
राजधानी ढाकामा विरोध प्रदर्शन गर्ने क्रममा ती इस्लामिक पार्टीका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भविष्यमा हुन गइरहेको बंगलादेश भ्रमणसमेत रद्द गर्नुपर्ने माग अघि सारेका छन्।
मोदीलाई बंगलादेशका राष्ट्रपिता मानिने सेख मुजिबुर रहमानको शताब्दी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ। शनिबार सडकमा ओर्लेका बंगलादेशका प्रदर्शनकारीहरूले उक्त आमन्त्रण रद्द गर्न माग गरेका हुन्।
तर, बंगलादेशका सत्तारूढ दल अवामी लिगका महासचिव तथा बंगलादेशका सडक यातायात मन्त्री अब्दुल कादरले दिल्लीमा भइरहेको हिंसा भारतको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन्। उनको यस अभिव्यक्तिलाई इस्लामिक पार्टीहरूले कडा आलोचना गरेका छन्।
बंगलादेशको प्रमुख सरकारी अखबार ‘ढाका ट्रिब्युन’ ले प्रदर्शनकारीहरूका भनाइलाई उद्धृत गर्दै मोदीको भ्रमण रद्द नगरिएमा उनी बंगलादेश भ्रमणका क्रममा ढाका विमानस्थलमा ओर्लिनेबित्तिकै उनकैसामु विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्।
नयाँदिल्ली हिंसाको विरोधमा उत्रिएका बंगलादेशी इस्लामिक पार्र्टीहरूले चाँडै नै बैठक आयोजना गरी थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने हिफाजत–ए–इस्लामका उपाध्यक्ष नुर हुसैन कासमीले पत्रकारहरूलाई बताएका छन्।
मामुनल हक नाम गरेका अर्का इस्लामिक नेताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कार्यक्रममा आमन्त्रण गर्नु भनेको बंगलादेशको राष्ट्रपिताको अपमान हुनु हो भनेका छन्।
नयाँदिल्लीमा भइरहकेको साम्प्रदायिक हिंसात्मक घटनामा बुधबारसम्मको पछिल्लो तथ्यांकअनुसार मर्नेको संख्या ४२ नाघेको छ। साथै, घाइतेको संख्या ३ सय ५० पुगेको छ। दशकौं यता राजधानीमा भएको यो सबैभन्दा डरलाग्दो हिंसात्मक साम्प्रदायिक हिंसा भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गरिरहेको समयमा यो हिंसा भएको हो। मुस्लिम र हिन्दू समूहबीच उत्तरपूर्वी दिल्लीका सडक र गल्लीहरूमा ढुंगा तथा पेट्रोल बम हानाहान भएको थियो।
उक्त दंगाको क्रममा कम्तीमा तीनवटा मस्जिद र थुप्रै घर तथा व्यापारिक भवन तथा पसल जलाइएका छन्। प्रत्यक्षदर्शीहरूले यस्तो हिंसा बन्द गर्नु साटो प्रहरीले हिन्दू राष्ट्रवादी नारा लगाइरहेका भीडलाई साथ दिएर विपक्षी समूहमाथि जथाभावी गोली चलाएको बताएका छन्। मोदीले एउटा विज्ञप्ति जारी गर्दै सबैलाई शान्त रहन आह्वान गरेका छन्।
सन् २००२ मा मोदी मुख्यमन्त्री रहेको गुजरातमा तीन दिनसम्म चलेको हिन्दू र मुस्लिमबीचको हिंसात्मक दंगामा १ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यसबेला मारिनेमा अधिकांश मुस्लिम रहेका थिए।