चीनमा कोरोनाभाइरस नयाँ सङ्क्रमणको सङ्ख्या घट्दो

0
Shares

  बेइजिङ।

कोरोनाभाइरस नियन्त्रण का लागि चीनले गरेका अनेकौँ प्रयासपछि यसको उद्गमस्थल मानिएको चीनमा सङ्क्रम क्रमशः कम हुँदै गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ ।

जटिल सङ्कटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यद्यपि मृतक र सङ्क्रमित सङ्ख्यामा हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।

चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा सङ्क्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ । चीनमा सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
अहिले सङ्क्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ ।

दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ । शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप सङ्क्रमितको सङ्ख्या ५९४ पुष्टि भएसँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन् । इरानमा बिहीवार रातीसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।
रासस/एएफपी