टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस

0
Shares

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ। यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा हस्ताक्षर गर्नुभयो।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताउनुभयो।
त्यस्तै कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस भएको बताउनुभयो। उहाँले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरू र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो।
हाल एक वर्षको लागि गरिएको सम्झौताअन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधा तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापमा सहभागी हुनुहुनेछ। यसैबीच नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।