फेवातालमा बेपत्ता युवाको शव भेटियो

0
Shares

पोखरा, (नेस)
फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका रामशरण लुइँटेलको शव मंगलबार फेवातालबाट निकालिएको छ। काठमाडौंबाट पोखरा घुम्न आएको टोलीले चलाएको डुंगा सोमबार फेवातालमा पल्टिँदा लुइँटेल बेपत्ता भएका थिए भने उनीसँगै रहेका अन्य ३ जनालाई नेपाली सेनाले उद्धार गरेको थियो।
सोमबार हराएका उनको शव मंगलबार सशस्त्र प्रहरीबलको गोताखोर टोलीले फेवातालबाट निकालेको हो। मंगलबार बिहान पोखरामा वर्षा भएका कारण खोजी कार्यमा केही समस्या भए पनि खोजी कार्यलाई सशस्त्र प्रहरीले तिव्रता दिएको थियो। लुइँटेलको शव करिब ४५ फिट पानीभित्र फेला पारेको सशस्त्र प्रहरी जवान तथा गोताखोर दीर्घनारायण पौडेलले बताउनुभयो।
काठमाडांै महानगरपालिका–१० कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेलको मृत्यु भएको हो। काठमाडौं महानगरपालिका १० कपनका सुविन चालिसे र सोही ठाउँका रुपेश अधिकारीको सकुशल उद्धार गरिएको थियो। लुइँटेल भने डुंगासँगै हराएका थिए। सोमबार दिउँसो डुंगा पल्टिएको थियो।
प्राइभेट डु्ंगा लिएर गएका उनीहरू डुंगामा पानी भरिएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी राजकुमार केसीले बताउनुभयो। फेवातालको सिरान खपौदीबाट उनीहरू डुंगा लिएर निस्केका थिए।