नेप्सेमा झिनो अंकको गिरावट


काठमाडौं, (नेस)

अघिल्लो दिन करिब ७० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन भने झिनो अंकले घटेको छ। यस दिन नेप्से १ दशमलव ९६ अंकले घटेर १५०२ दशमलव १८ बिन्दुमा समेटिएको छ।

समग्र परिसूचकमा गिरावट देखिए पनि सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ४९ ले बढेर ३१८ बिन्दुमा पुगेको छ। यस दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। यद्यपि, तीन अर्ब रुपियाँमाथिको कारोबार औसत दिनमा भन्दा उच्च हो।

अघिलो दिन उच्च अंकको वृद्धि भएपछि लगानीकर्ता हौसिदा कारोबारको अन्त्यमा परिसूचक नकारात्मक देखिएको सरोकारवालाको भनाइ छ। सोमबार कारोबार शुरू हुने बित्तिकै परिसूचक उकालो लागेको थियो। एक घण्टाभित्रै ३० अंकभन्दा बढीले उक्लिएको परिसूचक अन्त्यमा ऋणात्मक हुन पुग्यो।

सोमबार कुल १७९ कम्पनीको ८३ लाख ४८ हजार २३४ कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख रुपियाँबराबरमा कारोबार भएको थियो। यस दिन कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूह (बैंकिङ समूह ४ दशमलव ७६ अंक, उत्पादन समूह २३ दशमलव ३९ अंक र अन्य उपसमूह ९ दशमलव शून्य ४ अंकले) बढ्दा बाँकी सबै समूहमा गिरावट भएको छ।

त्यस्तै कारोबार रकमका आधारमा एनएमबि बैंक अगाडि रहेको छ। सो बैंकको २० करोड ४३ लाख रुपियाँबराबरको कारोवार भएको छ। यस्तै शिवम् सिमेन्टको १३ करोड ५ लाख, शिखर इन्स्योरेन्स कम्पनीको १२ करोड २४ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनीको ११ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनको १० करोड ६४ लाख, एनआईसी एसिया बैंकको १० करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १० करोड २२ लाख रुपियाँको कारोबार भएको छ।

यस दिन कालिका लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै सर्किट लागेको छ।

सोमबार मञ्जुश्री फाइनान्सको शेयर मूल्य ९ दशमलव ५७ प्रतिशत, युनियन हाइड्रोपावर ९ दशमलव ३८ प्रतिशतले बढेको छ। तर, गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य ७ दशमलव ५३ प्रतिशतले घटेको छ।