अनुमति बिना सञ्चालित निजी विद्यालयको जोखिमपूर्ण अवस्था, मासिक शूल्क १५ सय

0
Shares

सरोज यादव, मोरङ

मोरङको धनपालथान गाँउपालिकामा रहेको एक निजी विद्यालयमा विद्यार्थीहरु जोखिमपूर्ण अवस्थामा अध्ययन गर्न बाध्य छन ।

अनुमति बिना सञ्चालित उक्त विद्यालयको जीर्ण टहरोमा ज्यान धरापमा राखेर विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । कुनै विद्यालयको भौतिक संरचना कुन हदसम्म जीर्ण र लथालिङ्ग हुनसक्छ उदाहरण हेर्नुपरे मोरङको धनपालथान गाँउपालिका गए हुन्छ ।

यो गाँउपालिकाको वडा नम्बर ४ मा संचालित ‘द न्यु ब्राईट फ्युचर इंग्लिस बोर्डिङ स्कुल’ को अवस्था हेर्नुस त । कुखुरा पाल्ने खोरभन्दा पनि जीर्ण अवस्थामा रहेको यो विद्यालयमा एकसय ७५ जना विद्यार्थी अध्ययनरत छन् । नर्सरी देखी कक्षा ६ सम्म अध्यापन हुने यो विद्यालयले प्रतिमहिना विद्यार्थीबाट चारसय देखी १५ सय रुपैयासम्म शुल्क असुल्ने गर्छ ।

तर विद्यालयको भौतिक संरचना भने गाईभैंसी बाँध्ने गोठभन्दा पनि जीर्ण छ । अभिभावकले विद्यार्थीको पढाईको स्तरको मुल्याङ्कन गर्ने भएकाले विद्यालयको भौतिक संरचनाले खासै महत्व नराख्ने लगानीकर्ता समेत रहनुभएका विद्यालयका सहायक प्रिन्सिपल प्रकाश मण्डलको दाबी छ । बाँसको कर्ची, भाटा र परालको प्रयोगगरि बनाइएको यो विद्यालयको छानोमा भने बाँसले नै कर्कटपाता टाँगिएको छ । जुनसुकै बेला ढल्ने अवस्थामा रहेको यस विद्यालयको नर्सरी कक्षाको दृष्य अझ कहाली लाग्दो छ ।

विद्यालयको जीर्ण टहरोबाट जुनसुकै बेला दुर्घटना हुनसक्ने भन्दै हामीले प्रश्न गरेपछि प्रिन्सिपल राकेश माझीले हाँस्दै प्रश्न छल्ने प्रयास गर्नुभयो । दुई कट्ठा जग्गा भाडामा लिएर संचालनमा ल्याइएको यस विद्यालय परिसरमा खानेपानीको पनि ब्यवस्था छैन । अनुमति विना संचालित विद्यालयको बिषयमा जिज्ञासा राख्दा धनपालथान गाँउपालिकाकी शिक्षा अधिकृत सीता भट्टराईले विद्यालयको अवस्थाको बिषयमा शिक्षा समितिको बैठक बसेर निर्णय लिने बताउनुभयो ।