खानेपानी र विद्युतको महशुल पनि मेरै कार्यकालमा घट्छ : प्रधानमन्त्री ओली

0
Shares

सरोज यादव, पाँचथर।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत र खानेपानीको महशुल अझैपनि नेपाली जनताले धान्न नसक्ने भएकाले त्यसलाई परिमार्जन गरिने बताउनु भएको छ ।

पाँचथरको कुम्मायक गाँउपालिकामा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका मौलिक हकसँगै अत्यावश्यक आवश्यकतामा पर्ने यी वस्तुको शुल्क समायोजन गर्न सरकार प्रतिवद्ध रहेको टिप्पणी गर्नुभयो ।

सडक,विद्युत र खानेपानीको पहुँच प्रत्येक नेपालीको घरसम्म पु¥याउन सरकारले लिएको संकल्प आफ्नै कार्यकालमा पूरा गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । सुख्खा क्षेत्रका रुपमा स्थापित पाँचथरको कुम्मायक गाँउपालिकामा पर्ने तत्कालिन यासोक,स्यावु्रम्वा र रानिगाँउका सर्वसाधारणलाई खानेपानी सुविधा दिने उदेश्यले निर्माण गरिएको खानेपानी आयोजना प्रधानमन्त्री ओलीको ६९ औं जन्मोत्सवको अवसर पार्दै उद्घाटन गरिएको हो ।

पम्पिङ सिष्टमबाट तमोर नदीमा मुहान बनाएर पहाडको टाकुरामा ल्याइएको उक्त खानेपानीवाट ३ हजार ४३ घर परिवार लाभान्वित हुने वताइएको छ । ५३ करोड लागतमा निर्माण भएको यो आयोजनाको प्रकृया २०६८ सालदेखि शुरु गरिएको थियो । यो आयोजना लिफ्ट सिष्टमबाट निर्माण भएको देशकै ठूलो आयोजना हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली सहित खानेपानी तथा सरसफाई मन्त्री बिना मगर,भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्वाङ, स्वास्थ मन्त्री भानुभक्त ढकाल, एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो लगायतपनि सहभागि हुनुभएको थियो ।