धम्म डिजिटलको शुरुवात, बुद्ध धर्मको सबै कृति वेबसाईट

188
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको स्थविरवाद बुद्धधर्ममा अहिलेसम्म प्रकाशित कृतिहरु अब वेबसाईटबाटै पढ्न सकिने भएको छ ।

भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेपछि सो अवस्था उत्पन्न भएको हो । स्थविरवाद बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु पढ्न नया“ पुस्ताका लागि सहज बनेको संयोजक भिक्षुले बताउनुभयो ।

शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहकाबीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो । सो अवसरमा सम्बद्ध वक्ताहरुले इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै स्थानबाट बसेर बुद्ध धर्म सम्बन्धी किताब पढ्न सकिने अवस्थाले बुद्ध धर्मको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने धारणा व्यक्त गरेका छन् ।

अखिल नेपाल भिक्षुमहासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालमा बौद्ध साहित्यको संरक्षणमा वेभसाईटको निर्माणले महोत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गर्नुभयो । वेभसाईटको सञ्चालनले बुद्ध धर्मको क्षेत्रमा हालसम्म प्र्रकाशित कृतिहरुको अभिलेख पनि रहने बताउँदै बुद्ध धर्मका अध्येयता मदनरत्न मानन्धरले भन्नुभयो ‘बजारमा नपाइएका, पाउन छाडेका, नया“ पुस्ताको जानकारीमा नआएका सबै कृतिहरु हेर्न सकिने छ । ’

वेब साइटलाई मोबाईल ,ग्याजेट आदि आजको नयाँ प्रविधि अनुरुप हेर्न र पढ्न सक्ने किसिमले निर्माण गरिएको पनि छ । संयोजक भिक्षुका अनुसार वेभसाईटमा अडियो, भिडियो एवं ई लाइब्रेरीको कार्यक्रम राख्ने तयारीमा भइरहेको छ । वेभसाईटमा अहिले विभिन्न पुस्तक, पत्रपत्रिकाहरुमा प्रकाशित ५ सय लेख राखिएको छ । केही महिनापछि १ हजार लेख्न राख्ने बताउ्रँदै भिक्षु अस्सजीले प्रत्येक बर्ष १ हजार थप लेख वेभसाइटमा राख्ने लक्ष्य रहेको बताउनुभयो ।

सो कार्यको लागि क्याप्टेन देवबहादुर रानाले मगर बौद्ध संघको तर्फबाट ३ लाख ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी भिक्षु महानाम र पूर्णरत्न बज्राचार्य सहित परिवारबाट बार्षिक ४५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।