बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

0
Shares

रोशन पराजुली,हेटौंडा ।

बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शनिबार गोष्ठी सुरु भएको हो ।

गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता छ । पहिलो दिन चारवटै सुरक्षा निकाय र संघीय सरकारअन्तर्गत् गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको वर्तमान अबस्था र चालिएका कदमबारे प्रतिवेदन पेश गरेका छन् ।

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अबस्था, नागरिकता, पासपोर्ट बितरण, अपराध नियन्त्रणका लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमासम्बन्धी समस्या समाधानका लागि समीक्षा हुने जनाइएको छ । चीन र भारतसँग सीमा जोडिएको प्रदेश सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील मानिएको छ ।

गोष्ठीको समापनका लागि गृहमन्त्री रामबहादुर थापा आइतबार आउने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । बागमती प्रदेशभित्र सुरक्षा रणनीतिबारे गृहमन्त्री थापाले विशेष निर्देशन दिने जनाइएको छ ।

गोष्ठीमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलको सभाध्यक्षतामा गोष्ठी सुरु भएको हो ।