मुख्यमन्त्री राईद्वारा प्रदेश सरकारका गौरवका आयोजनाको निरीक्षण

0
Shares

सरोज यादव,विराटनगर ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गौरबको आयोजना घिनाघाट–विराटचौक चारलेन सडक आयोजना निर्माण कार्यको शुक्रबार अनुगमन तथा निरीक्षण गर्नुभएको छ । दुई लेनबाट चार लेनमा विस्तार गरि कोशी राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्ने योजनासहित प्रदेश सरकारले निर्माण थालेको आयोजनको काम तीब्र गतिमा भइरहेको छ ।

कुल १ अर्ब ४० करोड रुपैयाँको लगनीमा २२.१५९ किलोमिटर लम्बाईको सडक २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता छ । प्रदेशकै पहिलो प्रादेशिक सडक आयोजनाको ७ महिना अवधिको कार्यप्रगतिबारे मुख्यमन्त्री राईले निरीक्षण तथा अनुगमन गर्नुभएको हो । निर्माण कम्पनीले तीब्र रुपमा काम गरिरहेको जानकारी मुख्यमन्त्री राईलाई दिँदै केहि विषयमा सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

सडक निर्माणका लागि आवश्यक पर्ने सहजीकरण सरकार र सम्बन्धित स्थानीय तहले गरिदिने बताउँदै मुख्यमन्त्री राइृले तोकिएको अवधिमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । भौतिक पूर्वाधार राज्यमन्त्रीसहित सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीलाई समेत साथमा लिएर मुख्यमन्त्री राईले सडक निर्माणको अवस्था स्थलगत रुपमा अवलोकन गर्नुभएको थियो ।

उहाँले निर्माणका क्रममा कुनै पनि त्रुटी र तोकिएको मापदण्ड विपरित काम भए/नभएको कुरालाई आफूले कुनै न कुनै रुपमा निगरानी गरिरहेको बताउँदै कमजोर भएको पाइए कारवाही गर्ने बताउनुभएको छ । सडक निर्माणका क्रममा विद्युतका पोल सार्ने, खानेपानी पाइलाइन व्यवस्थापन, रुख कटान, हरैंचामा रहेको कालि मन्दिर व्यवस्थापन, तेतरियामा कल्भर्ट निर्माणसहित बेलेपुर चौक उत्तर–दक्षिण चार किलोमिटर नाला निर्माणको काम थपिएको छ ।

सडकलाई तीन प्याकेजमा विभाजन गरेर काम भइरहेको पूर्वाधार कार्यालयका सिनियर डिभिजन इन्जिनियर शुशिल श्रेष्ठले जानकारी दिनुभयो । ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीले फिलिङ्ग सेक्सनमा ड्रेन परेको, बक्स कल्भर्ट र ह्युम पाइपको माग धेरै भएको, सिंचाई नरहको व्यवस्थापन, वर्षात्को पानी निकास, फाउण्डेशनमा कालो माटो रहेका कारण आरसीसी र स्टीलको परिमाण बढी आएको भन्दै १० प्रतिशत बजेट (भेरिएशन) थप गर्नुपर्ने माग अगाडि सारेको छ ।

पहिलो चरणमा १०–१० किलोमिटरमा विभाजन गरि निर्माणको काम भईरहेको सडक आयोजनाभित्र चारवटा पुल निर्माणसहित २.१९५ किलोमिटर दुरीका लागि ठेक्का प्रक्रिया अगाडि बढेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । चारलेनमा विस्तार गरिने सडककलाई वस्ती क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटरमा सीमा क्षेत्र कायम गरि मध्यभागबाट दुवैतर्फ ३५/३५ फिट कालोपत्रे गरिनेछ ।

सडकमा माटो फिलिङ र नाला निर्माणको काम ८० प्रतिशत सकिएको र कल्भर्टको कामहरु ५० प्रतिशत सम्पन्न भईसकेको निर्माण पक्षले जनाएको छ । समग्रमा भौतिक प्रगति ३९ प्रतिशत र वित्तीय प्रगति ३०.५ प्रतिशत भईसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।