पश्चिमी वायुको प्रभाव केही दिन लम्बिने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बिहिबारदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको मौसमविद्ले जनाएका छन् ।

आगामी दिनमा पनि मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद्ले बताए । अबको केही दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँलगाएत देशका मध्य भागमा छिटफुट वर्षा हुने बताइएको छ । यस्तै, पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।