मुस्ताङमा हिमपात : जोमसोममा १ फिट हिउँ जम्यो, हवाई उडान प्रभावित

0
Shares

प्रताप बानिया, मुस्ताङ ।

केही दिनदेखि मौसममा आएको बद्लीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको जानकारी आएको उहाँले बताउनुभयो । हिमपातसँगे उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ ।

यसैगरी हिमपातका कारण जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भएको छ भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताउनुभयो । हिमपातले मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् । शुक्रबार पछिल्लोपटक परेको हिमपातले गर्दा मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ । मुस्ताङमा पटकपटक परेको भारी हिमपातका कारणले गर्दा कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डको जोमसोमभन्दा माथिको खण्ड भने अहिलेसम्म खुलेको छैन ।

वर्षा र हिमपातले चिसो बढेपछि मनाङको थोरङ्लापास क्षेत्र तथा म्याग्दीको दाना भएर मुस्ताङ भित्रिने पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ । हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रजिअ अर्यालको भनाइ छ ।