म्याग्दीको गलेश्वर क्षेत्रबाट १ सय ३० लिटर घोट्टा बरामद गरी नष्ट

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित मन्दिर तथा आसपासका ठाउँबाट १ सय ३० लिटर घोट्टा बरामद गरी नष्ट गरिएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा शुक्रबार गलेश्वर क्षेत्रबाट अवैध रुपमा दुधमा नसालु पदार्थ मिसाएर बनाएको घोट्टा बिक्री वितरण गरेको पाइएपछि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

नसालु पदार्थ गाँजा, चरेस र भाङ मिसाएर बोतलमा राखी बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा घोट्टा बरामद गरी नष्ट गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीलाई सूचना प्राप्त भएपछि लगत्तै पुगेको प्रहरीको टोलीले १ सय ३० लिटर घोट्टा जफत गरेर नष्ट गरेको छ ।

प्रहरीले मिनरल वाटरको बोतल तथा एउटा ड्रममा राखेको घोट्टा जफत गरेको थियो । उक्त बोतलमा रहेको घोट्टाको रङ गाढा र केही कम रहेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ । चाडपर्वको नाममा संस्कृतिभन्दा पनि बिकृति बढ्ने देखिएकाले घोट्टा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रनाउ कुँबरको भनाइ छ ।