शिवरात्रीको ‘अवसर’ भन्दै गाँजा तान्दै

0
Shares

रोशन पराजुली,हेटौंडा।

हेटौंडामा कुलतमा फस्ने किशोरीको संख्या बढ्दै गएको छ । लहड र साथीभाइको लहैलहैमा लागेर किशोर र युवामात्र होइन, किशोरी र युवतीहरु पनि लागुऔषध गाँजाको लतमा फस्ने क्रम बढेको हो ।

शुक्रबार शिवरात्रिका दिन हेटौंडा–२ स्थित बनस्खण्डी मन्दिर क्षेत्रमा ७/८ जना महिला चुरोटमा राखेर गाँजासेवन गरिरहेको अबस्थामा भेटिए । शिवरात्रिको ‘अवसर’ भन्दै बनस्खण्डीको जंगलमा १६ महिला र पुरुषसँगै बसेर गाँजासेवन गरिरहेको अबस्थामा भेटिए ।

भेटिएकामध्ये अधिकांश १८ वर्षमुनिका थिए । प्रहरी नियन्त्रणमा रहेको अबस्थामा घरबाट फोन गर्दा एक किशोरीले आफू टयुसन् क्लासमा रहेको बताइन् । यसरी परिवारलाई झुठ बोलेर किशोरकिशोरी कुलतमा फस्दै गएको देखियो ।

शुक्रबार नै हेटौंडा–१४ स्थित बँदेलधाप जंगलमा गाँजा तान्दै गरेको अबस्थामा ३ महिला र ४ पुरुषलाई देखेपछि छिमेकीले प्रहरीलाई फोन गरे । प्रहरी पुग्दा पुरुषहरु भागिसकेका थिए । ३ किशोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

वडा प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पठाइएको वडा प्रहरी सहायक निरीक्षक साजनकुमार शर्माले बताउनुभयो । गाँजासेवन गरेको देखेर गाउँलेले सम्झाउँदा उनीहरुलाई गाँजासेवन गरेका पुरुषहरुले खुकुरी देखाउँदै काट्ने धम्की दिएका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा–१४ की १८ वर्षीया किशोरी, हेटौंडा–९ की १७ वर्षीया र हेटौंडा–९ कै १८ वर्षीय किशोरी छन् । उनीहरुलाई सम्झाइबुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुर लागुऔषध उत्पादनसँगै प्रयोग गर्ने जिल्लाका रुपमा समेत चिनिन थालेको छ । मकवानपुरको पहाडी क्षेत्रमा गाँजा र अफिम उत्पादन हुने गरेको छ भने विभिन्न नाका हँुदै मकवानपुरमा भारतबाट लागुऔषध भित्रने गरेको छ । मकवानपुरमा लागुऔषध दुर्व्यसनमा फसेकाको पुनर्स्थापनाका लागि एक दर्जन बढी रिह्याब सेन्टर खुलेका छन् ।

फाईल फोटो