वीरगन्ज नाकामा ‘हेल्थ डेस्क’ स्थापना

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज,

कोरोना भाइरसका परीक्षणका लागि वीरगन्ज नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण शुरु भएको छ । चीनबाट कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत फैलन थालेपछि स्वास्थ्यकर्मीसहित २४ घन्टा सेवा दिने गरी ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

हेल्थ डेस्कमा कोरोना भाइरसका बारेमा जानकारी लेखिएको पर्चा, दराज, सोफा सेट, स्वास्थ्यकर्मी बस्ने कुर्सी टेबल र एउटा बेड छ । त्यसबाहेक प्रेसर जाँच्नेलगायत केही स्वास्थ्यसँग सम्बन्धित उपकरण छ । यसबीचमा वीरगन्ज नाका हुँदै नेपाल आएका १४ जना चिनियाँ, ५ जना युक्रेन, ६ जना भियतनाम, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, इजरायल जस्ता देशबाट आएका ४० जना विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

हेल्थ असिस्टेन्ट हवारीका अनुसार हेल्थ डेस्क स्थापनापछि चिनियाँलगायत तेस्रो मुलुकबाट आएका नागरिकको प्राथमिकताका साथ स्वास्थ्य जाँच गर्ने गरिएको छ । तर वीरगञ्ज नाका हुँदै नेपाल छिर्ने हजारौं नागरिकको स्वास्थ्य परीक्षण नाकामा हुन्न ।

हेल्थ डेस्कमा बसेका महानगरपालिकाका कर्मचारी कामविहीन छन् । तर नगर प्रमुख विजयकुमार सरावगी नाकामा ‘हेल्थ डेस्क’ त्रिभुवन विमानस्थलमा जसरी नै विदेशी नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बताउउनुभयो । वीरगन्ज नाका हुँदै वर्षेनी १२ सयको हाराहारीमा तेस्रो मुलुकबाट पर्यटक आउने गरेको र उनीहरुकै स्वास्थ्य परीक्षणका लागि हेस्थ डेस्क राखिएको नगर प्रमुख सरावगीको भनाइ छ ।