जनताको सम्पत्तिमाथि खेलवाड नगर्न लोहनीको आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

जनताको सम्पत्तिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनुपर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताउनुभएको छ।

देशमा विकसित बेथिति, भ्रष्टाचार र राज्यसत्ताको लुटलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताउनुभएको हो।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले भनेका छन्– ‘प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुन्छ।’

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नुपर्ने हो तथापि जनताको साधन स्रोत र सम्पत्तिमाथि खेलवाड भएको छ। त्यसैले, त्यसको विरुद्धमा जनता आफैँ उत्रनुपर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो’, सन्देशमा उनले भनेका छन्।

फागुन–७ गतेले अगाडि बढ्न आमनेपालीलाई प्रेरणा दिनेछ भन्दै लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।

‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन–७ गते राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो’, लोहनीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

‘२००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अथक शक्तिबाट राणाशासन पराजित भएर प्रजातन्त्र स्थापना भएको दिन हो।’