युनाइटेडद्वारा चेल्सी पराजित


लन्डन, (एजेन्सी) ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित भएको छ।
लन्डन क्लब चेल्सी घरेलु मैदानमा युनाइटेडसँग २–० ले पराजित भएको हो। स्टामफोर्ड ब्रिजमा भएको उक्त खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिसाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफसम्म १–० ले अग्रता दिलाए। त्यसअघि २१औं मिनेटमा ह्यारी मिगुएर रातो कार्डबाट बचेका थिए।
चेल्सीको टचलाइनमा लड्न पुगेका मिगुएरले मिचेल बात्सुयाइलाई अनावश्यक फाउल गर्न पुगेका थिए। भीएआरमा उनले कुनै गलत आचरण नगरेको भन्दै उनी रातो कार्डबाट जोगिएका थिए।
खेलको ५४औं मिनेटमा कोर्ट जोउमाले गोल गरे पनि भीएआरबाट मान्यता नपाउँदा चेल्सी बराबरी गर्नबाट चुकेको थियो। मासन माउन्टले क्लोज रेन्जबाट गरेको क्रसलाई कोर्ट जोउमाले गोल गरे पनि भीएआरमा चेल्सीका कप्तान सेसरले ब्रान्डन विलियम्सलाई धकेलेको देखिएको थियो।
खेलको ६६औं मिनेटमा ब्रनो फर्नान्डेजको पासमा ह्यारी मिगुएरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। ७७औं मिनेटमा चेल्सीको अर्काे गोलमा भीएआर नै बाधक बने। ओलिभर जिरुउडले गोल गरे पनि उनी अफसाइड ठहरिए।
त्यसपछि पनि चेल्सीले केही मौका गुमाएपछि घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो। जितपछि युनाइटेड २६ खेलबाट ३८ अंक जोडेको छ। यता चेल्सीको भने समान खेलबाट ४१ अंक रहेको छ।