बक्सिङको छनोट शुरू


काठमाडौं, (नेस) ।
आगामी अप्रिल १ देखि १० तारिखसम्म थाइल्यान्डको पतायामा आयोजना हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट मंगलबारबाट शुरू भएको छ।
मंगलबार भएको पुरुष ५७ केजी तौल समूहमा जित हात पार्दै ललितपुरका बुद्धग्याल्पो लामा सेमिफाइनलमा पुगेका छन्। उनले दाङका अनिलकुमार पुनलाई पराजित गरे। त्यसैगरी, त्रिभुवन आर्मी क्लबका पुरन झापाका सुरेन्द्र राईलाई हराउँदै अन्तिम चारमा स्थान बनाए।
पुरुषकै ६३ केजीमा अभिनय राई र दानबहादुर दर्लामी पनि सेमिफाइनल पुगे। राईले दाङका निसम जिएम र दर्लामीले जनकपुरका अमरनाथ साहलाई पराजित गरे। यस्तै, काठमाडौंका सनिल शाहीले कास्कीका पवन गुरुङलाई हराए।
पुरुषकै ८१ केजीमा आर्मीका गणेश प्रधान र दाङका केशर खत्री सेमिफाइनलमा प्रवेश गरे। महिलाको ५१ केजी तौल समूहमा आर्मीकी ललिता महर्जनले काभ्रेकी सपना गुरुङलाई अंकका आधारमा हराउँदै फाइनलमा स्थान बनाइन्।
छनोटलगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए। बिहीबारसम्म हुने छनोटअन्तर्गत पुरुषमा ६ र महिलामा चार तौल समूहका खेल सञ्चालन हुनेछन्।