पाराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट


नेपाल समाचारपत्र, काठमाडौं
एनएनआईपीए स्पोर्टस् अवार्ड २०७५ अन्तर्गत १४औं संस्करणमा पाराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
मंगलबार वसन्तपुरमा आयोजित अवार्ड कार्यक्रममा २८ अलग–अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट विमल र निमा सर्वोत्कृष्ट खेलाडी हुन सफल भएका हुन्। नेपाल खेलाडी तथा अन्तर्राष्ट्रिय संघ (एनएनआईपीए) द्वारा अयाोजित कार्यक्रममा उत्कृष्ट भएका दुवै खेलाडीले १/१ लाख नगद पुरस्कार पनि प्राप्त गरे। विमल भने पोखरामा रहेकाले उपस्थित हुन सकेनन्।
त्यस्तै, यसै संस्करणमा परिचित भएको नयाँ विधा प्रतिभावान् खेलाडीमा एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी उत्कृष्ट भएका छन्। दुवैले समान ५० हजार रुपियाँ हासिल गरे।
अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो। एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेलमा भाग लिएको थियो। उत्कृष्ट २८ खेलाडी यसअघि नै घोषणा भइसकेका थिए।
उनीहरूले समान १० हजार रुपियाँ प्राप्त गरे। एनएनआईपीए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबी, फेन्सिङ, रोलर स्पोर्टस्, स्क्वास, सेपाकताक्रो, कुस्ती, स्पोर्टस् क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फ रहेका छन्।
आदर्श खेल व्यक्तित्वमा मदन
बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपीएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ। नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको आग्रहपछि बर्माको सैनिकको जागिर छाडेर गुरुङ नेपाल आएका थिए।
गुरुङ सफल नेपालका सफल बक्सरहरूका प्रशिक्षक हुन्। जसमा दलबहादुर राना, पुष्करध्वज शाहीदेखि प्रकाश थापामगर, मानबहादुर श्रेष्ठलगायतका हुन्। आइबा रेफ्रीसमेत रहेका गुरुङ राखेपका दोस्रो श्रेणीका अधिकृत हुन्। उनले सम्मान पत्रसहित ३५ हजार रुपियाँ प्राप्त गरे। गायक योगेश्वर अमात्यले गुरुङलाई ३५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन्।
पारा अवार्ड
एनएनआईपीएले पहिलोपटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन्।
ओली सम्मानित
एनएनआईपीए खेल पत्रकार अवार्ड प्रज्ज्वल ओलीलाई प्रदान गरिएको छ। उनले गत महिना एआईपीएस अवार्डको बेस्ट कोलम राइटिङ अवार्ड जितेका थिए। उनले सम्मानपत्रसहित २५ हजार रुपियाँ प्राप्त गरे।
एनएनआईपीए स्पोर्टस् अवार्ड २०७५
सर्वोत्कृष्ट खेलाडी (१ लाख)
महिला– निमा गुरुङ (तेक्वान्दो)
पुरुष – विमल अधिकारी (पाराग्लाइडिङ)
प्रतिभावान खेलाडी (५० हजार)
महिला – सरस्वती चौधरी (भलिबल)
पुरुष – अजितकुमार यादव (एथलेटिक्स)
गजराज आदर्श खेल व्यक्तित्व(३५ हजार)
मदनकुमार गुरुङ, बक्सिङ प्रशिक्षक
विशेष सम्मान(२५ हजार)
प्रज्ज्वल ओली
खेल पत्रकार (२५ हजार)
राजेन्द्र चित्रकार
त्कृष्ट खेलाडी (१० हजार )
फुटबल – भरत खवास
भलिबल – सरस्वती चौधरी
सुटिङ– सुष्मिता नेपाल
भारोत्तलोन – सञ्जु चौधरी
पाराग्लाइडिङ – विमल अधिकारी
पौडी – सुभम श्रेष्ठ
टेबल टेनिस – नविता श्रेष्ठ
फेन्सिङ – ओमकार सिंह
टेनिस – प्रेरणा कोइराला
कबड्डी – रेणुका कुमारी राजवंशी
सेपाकताक्रो – रोशन तामाङ
स्पोर्टस क्लाइम्बिङ – पेम्बा शेर्पा
बक्सिङ – मिलनशाह ठकुरी
रोलर – भूपेन्द्र थापा
ब्याडमिन्टन – दिपेश धामी
कुराँस – उपेन्द्र थापा
पेनकेक सिलात – गोविन्द चौधरी
ट्रायथलन – वसन्त थारू
एथलेटिक्स – अजितकुमार यादव
बास्केटबल – मनेष राजोपाध्याय
जुडो – इन्द्र श्रेष्ठ
कराँते – विजय श्रेष्ठ
कुस्ती – रेशम गौतम
उसु – जुनी राई
आर्चरी – तिलक पुन मगर
तेक्वान्दो – निमा गुरुङ
गल्फ – टंकबहादुर कार्की
पारा एथलिट – महिमा कोइराला (बोसिया)