सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: राप्रपा


यमलाल भुसाल, बुटवल ।
बहुमतको सरकार भए पनि सरकारले जनताका अपेक्षाअनुसार जनताले अनुभूति गर्ने गरी कुनै पनि काम गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले टिप्पणी गर्नुभएको छ ।
मंगलबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष थापाले ५ वर्षका लागि जनादेश प्राप्त बहुमत सरकारका प्रधानमन्त्रीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ भन्नु आश्चर्यजनक कुरा हो भन्दै सरकार ढाल्ने षड्यन्त्र कहाँ कोबाट भएको हो सोबारे जनतालाई प्रष्ट रूपमा जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा वलीलाई आग्रह गर्नुभयो।
प्रधानमन्त्री वलीले आफ्नै गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिनुभएको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले कहाँबाट कुन शक्तिले सरकार ढाल्ने षड्यन्त्र गरेको हो प्रधानमन्त्रीले प्रष्ट रूपमा भन्नुपर्ने बताउनुभयो। उहाँले विपक्षी दलहरू र जनता यो सरकारले ५ वर्ष काम गरोस् भन्नेमा रहेको भए पनि दुई वर्षको अवधिमै प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आउनु दुखद् हो भन्नुभयो।
पार्टीको पाँच नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बुटवल आउनुभएका अध्यक्ष थापाले तीन पार्टीबीचको एकताका काम सकिएको बताउँदै एकताका लागि पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको फोन कुरेर बसेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एकताको काम सबै सकिएको छ, अव पशुपतिजी र प्रकाशजीले मिति तोकेर हामीलाई बोलाउन मात्रै बाँकी छ।’
पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमसीसी नेपालको हितमा रहेको बताउँदै उहाँले सत्तारुढ दलका जिम्मेवार नेताबाटै त्यसको बिरोध हुँदा गम्भीर प्रश्न र आशंका उत्पन्न भएको उल्लेख गर्नुभयो। एमसीसीका विषयमा सरकारले प्रष्ट धारणा बनाउनुपर्ने बताउनुभयो।
राप्रपाले ३ लाख क्रियाशील सदस्य बढाउने लक्ष्यसहित सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। जसमा हालसम्म बाग्मती र गण्डकी प्रदेशमा सकिएको छ भने आज मंगलबार र भोलि बुधबार प्रदेश पाँचमा प्रशिक्षण कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो।
पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको राप्रपाले तीन पार्टीबीच एकता पुरा गरेर आगामी २०७७ जेठ २५ गतेलाई महाधिवेशनको मितिसमेत तय गरिसकेको उहाँले जानकारी गराउनुभयो।
निर्वाचनको सँघारमा पार्टी विभाजन हुनु, नेपाली कांग्रेससंगको सहकार्य हुनु तर सहकार्यमा कांग्रेसले इमानदारिता नदेखाउनु, कमजोर संगठनलगायतका कारणले गत निर्वाचनमा पार्टीले नराम्रोसंग हार व्यहार्नु परेकाले त्यसबाट पाठ सिकेर पार्टीलाई मजबुद बनाउनका लागि अभियान सञ्चालन गरिएको समेत उहाँले बताउनुभयो। उहाँका अनुसार ०७७ जेठ २५ भित्रै प्रदेश, ७ सय ५३ वटै स्थानीय तह तथा सबै वडामा पार्टीको संगठन निर्माण गरिनेसमेत जानकारी गराउनुभयो।