काभ्रेभञ्ज्याङमा मदन भण्डारीको सालिक  धुलिखेलमा ३६  वटा पार्क निर्माण


मोतीराम तिमल्सिना, काभ्रे।
जननेता मदन भण्डारीको योगदान स्मरण गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको सालिक अनावरण गर्नुभएको छ।
धुलिखेल नगरपालिका–११ काभ्रेभञ्ज्याङमा निर्माण गरिएको पार्क र पार्कमा निर्माण गरिएको जननेता मदन भण्डारीको सालिक अनावरण गरेपछि प्रधानमन्त्री ओलीले देशलाई कसरी अगाडि बढाउनुपर्छ ? देशमा कस्तो लोकतन्त्र आवश्यक छ ? जनतालाई कस्तो शासन आवश्यक छ ? नागरिकहरूका लागि शान्ति र सुशासन दिन, विकासको आफ्नै तरिकाबाट नेपाललाई तीव्र गतिको विकासमा लैजान सकिन्छ भन्ने उहाहरण देखाएको बताउनुभयो।
‘जननेता मदन भण्डारीको योगदान स्मरण गर्ने गरी निर्माण गरिएको सालिक र त्यसबाट दिन खोजिएको सन्देश मुलुकको लोकतन्त्र र शासन पद्धतिसँग जोडिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘जननेता मदन भण्डारीप्रति श्रद्धासुमन व्यक्त गर्दछु। देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने, नयाँ बाटो दिन सक्ने नेताको निधन भएको लामो समयपछि पनि स्मरण गरेकोमा नगरपालिकालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै नेपालीहरूको कृतज्ञता व्यक्त गर्ने परम्परालाई निरन्तरता दिएकोमा सम्मान व्यक्त गर्नुभयो।
नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा पाँच वर्षभित्र ६५ वटा पार्क निर्माण गर्ने लक्ष्यअनुसार हालसम्म ३६ वटा पार्क निर्माण गरिसकिएको बताउनुभयो। पर्यटन वर्षको अवसरमा प्रत्येक महिना एउटा पार्कको शिल्यान्यास गर्ने रणनीति नगरपालिकाले लिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले पर्यटकीय नगरी धुलिखेल पर्यटकमैत्री, वातावरणमैत्री, बालमैत्री, शैक्षिक, हेल्दिसिटीलगायतको नगरका रूपमा विकास गरिएको जनाउनुभयो।
काभ्रेभञ्ज्याङमा निर्माण भएको पार्कका लागि नगरपालिका र बाग्मती प्रदेश सकारका तर्फबाट लगानी गरिएको छ। झन्डै ३० लाखमा निर्माण भइरहेको पार्क अनावरण कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, जनप्रतिनिधि एवं राजनीतिक दलका नेताहरू, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालगायतको सहभागिता रहेको थियो। बनेपा सिन्धुली बर्दिबासको काभ्रेभञ्ज्याङ खण्डमा निर्माण भएको मदन भण्डारीको सालिकसँगै पार्कले स्थानीय तथा पर्यटकहरूका लागि आकर्षकको केन्द्र बनाइने भएको छ।