शारदा जिल्लाकै पहिलो बालविवाह मुक्त नगरपालिका


न्युज अफ नेपाल, सल्यान ।

सल्यानको शारदा नगरपालिकालाई जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाह न्युनिकरणमा कमी आएपछि नगरपालिकालाई एक कार्यक्रमको आयोजना गरी बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो ।

समुदाय प्रहरी साझेदारी अन्तरगत जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालिकाको सक्रियतामा संचालन गरेको अभियानमा बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालीकालाई नै जिल्ला कै पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको शारदा नगरपालिका सल्यानले जनाएको छ ।

करिब ३४ हजार जनसंख्या भएको नरपालिकामा बालविवाह न्युनिकरणको अभियान चलाएयता २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी प्रहरी, स्थानीयवासी जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिबद्धता जनाए ।

यस नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालीका घोषणा गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो ।

नगरपालीका भित्र बालविवाह अत्याधिक हुन थालेपछि जिल्ला प्रहरी कार्यलय सल्यान र नगरपालिकाले ज्योतिष, जैसि तथा छापाखानाहरुलाई तालीम र बालविवाहको चिना नहेर्ने र कार्ड नछाप्ने भनी प्रतिबद्धता समेत गराएको थियो ।

अहिले बालविवाहमा केही सुधार आएपछि र २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएकोले बालविवाह मुक्त नगरपालीका घोषणा गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘लामो प्रयास पछि बालविवाह मुक्त उन्मुख नगरपालीका घोषणा गर्न सफल भएका छौ, यसलाई आगामी दिनमा सबैले आ–आफ्नो ठाउँबाट यो कानुनी रुपामा दण्डनीय अपराध हो भने सचेतना फैलाउन जरुरी छ, बिद्यालयमा पनि यस बालविवाह सम्बन्धी शिक्षा दिन जरुरी छ ।’

बालविवाह मुक्त अभियानमा सबै लागेर यसलाई पुर्ण रुपमा न्युनिकरण गर्नमा सहयोग गर्नुपर्ने पर्ने नगरप्रमुख अधिकारीले बताउनु भयो ।
जिल्लालाइै नै बालविवाह मुक्त बनाउनको लागी अभियान संचालन गरिरहेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनु भयो ।

बालविवाहकै कारणले सम्बन्ध बिच्छेद सँगै बिभिन्न घटना हुने भएकाले अब बालविवाह मुक्त समाज बनाउनु पर्ने उहाँले बताउनु भयो ।

उहाँका अनुसार २०७५/७६ मा शारदा नगरपालिका भित्र ३ वटा बालविवाह भएका थिए भने १० जनालाई कारवाही गरिएको थियो । २०७६/७७ मा २ वटा मुद्धा दर्ता भएका छन भने ९ जनालाई कारवाही गरिएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।