प्राकृतिक स्रोत संरक्षणमा जुटौं



प्रकृतिमा भएका जंगल, पानी, ढुंगा, माटो, बालुवालगायतका स्रोतलाई जथाभावी उपयोग गर्दा विभिन्न समस्याले हामीलाई गाँज्दै आएको छ। सीमाभन्दा बढी मानवीय क्रियाकलाप भैदिँदा धर्तीले बहन गर्न सक्ने क्षमता गुमाउँछ र अनेकौं समस्या देखा पर्छन्।

आधुनिक र सुविधायुक्त आवासको निर्माणमा प्रयोग त गुमेकै छ प्राकृतिक विपत्तिहरू पनि सँगै निम्तिरहेका छन्। अग्ला डाँडालाई व्यवस्थित बासस्थान निर्माण गर्ने होडमा डोजर चलाएर सम्म बनाइन्छ अनि प्लानिङका नाममा आवासीय क्षेत्रको निमार्ण गरिन्छ। यसले प्राकृतिक विनाश बढाइरहेको छ।

यता वृक्षरोपणका कार्यक्रम भइरहन्छन् तर संरक्षण गर्न नसक्दा वृक्षरोपणका नाममा मात्रै सीमित हुन पुगेको तीतो वास्तविकता सबैका सामु छ। उपत्यकाका विभिन्न सडक तथा चक्रपथ दायाँ–बायाँ भएका वृक्षलाई कमजोर भएको भन्ने बहानामा सखाप बनाइन्छ।

साथै सडक फराकिलो पार्न भनेर त्यहाँको हरियाली उजाड पारिन्छ। वातावरणमा सकारात्मक प्रभाव राख्न सहयोग पुगेको सो हरियालीको स्थानमा व्यवस्थितरूपले बिरुवा लगाई उचित संरक्षण गर्नुपथ्र्यो।

उपत्यकाको जनघनत्व तीव्ररूपले वृद्धि हुँदा पानीको अभाव बढेर गएको छ, जसका कारण जमिनमुनिको पानी तान्ने क्रम पनि व्यापक मात्रामा वृद्धि भैरहेको छ। यसले जमिन भासिने खतरा उत्तिकै छ भने यहाँका धारा, पोखरी, इनार सुकिरहेको अवस्था छ।

हरियो वन नेपालको धन भन्ने नारालाई चरितार्थ गर्न सकिएको छैन। सहरी क्षेत्रमा सार्वजनिक जमिन, नदी किनारा र सडक किनारमा उपयुक्त वृक्षरोपण गरी संरक्षण गर्नु जरुरी भएको छ। हरियाली कायम राखेमा वातावरणमा केही सुधार हुन्छ भने पानीका स्रोत पनि संरक्षण गर्नमा सघाउ पुग्नेछ।
प्राकृतिक स्रोत संरक्षणमा खाली सरकारको मुख ताक्नुभन्दा स्थानीय बासिन्दा नै अग्रसर हुनुपर्छ। सरकारले त यसका लागि सहज वातावरण बनाइदिने मात्र हो।

– सुन्दर थापा, बनेपा, काभ्रे।

प्रतिक्रिया दिनुहोस्