नेपालमा जापानी सम्राटको जन्मोत्सव

0
Shares

काठमाडौं, (नेस)। 

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शनिबार अन्तर्राष्ट्रिय पाहुनाहरुका बीच आफ्ना सम्राट नारुहितोको ६०औं शुभजन्मोत्सव समारोहको आयोजना गर्नुभयो।

जापानी राजदूतावासले प्रकाशित गरेको विज्ञप्तिअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष आतिथ्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलगायत विभिन्न क्षेत्रका प्रतिनिधि, नेपालस्थित विदेशी राजदूतसमेत करिब तीन सय ५० विशिष्ट व्यक्तिको उपस्थिति रहेको सो स्वागत समारोहमा राजदूत साइगोले स्वागत मन्तव्य दिनुभएको थियो।

सम्राट नारुहितोको शुभराज्याभिषेकपछि आयोजना भएको यो उहाँको पहिलो शुभजन्मोत्सव समारोह हो। चार महिनाअघि सम्पन्न शुभराज्याभिषेकमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउनुभएको थियो।

नारुहितोको राज्यारोहणसँगै जापान ‘सुन्दर समन्वय’ को युगमा प्रवेश गरेको स्वागत समारोहका क्रममा राजदूत साइगोले जानकारी गराउनुभएको पनि विज्ञप्तिमा जनाइएको छ।

राजदूत साइगोले स्वागत मन्तव्यमा जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री नोरिहिरो नाकायामाको गत महिना नेपालमा भएको भ्रमण र यस्ता विशिष्ट व्यक्तिको भ्रमणले दुई देशको मित्रता सुमधुर बनाउन सघाएको पनि उल्लेख गर्नुभएको थियो।

जापानले सम्राटलाई जनताको एकताका प्रतीकका रूपमा स्वीकार गरेको छ। त्यसैले सम्राटको जन्मदिनलाई राष्ट्रिय महोत्सवका रूपमा मनाउने गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।