खरिपाटीमा पत्रकार र प्रहरीबीच तनाव, रासस र नेपाल टेलिभिजन बाहेक अन्य मिडियालाई निषेध


पुष्कर बुढाथोकी, भक्तपुर ।

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पुरा भएको छ ।सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट शनिबार राती ल्याउने तैयारी गरिरहेको छ ।

नेपालीहरुलाई १५ दिनसम्म राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाईन निर्माणदेखि सम्पूर्ण तयारी पुरा गरेको हो । शहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यबस्थापन कार्यानवयन काठमाण्डौंका सहसचिव कुमार घिमिरेले भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यबस्था गरि तयारी पुरा गरेको जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाईसम्मका पूर्वाधार व्यबस्थापनमा सघाऊ पुर्याउदै ६ दिनभित्र सम्पूर्ण तयारी पुरा गरेको उहाँले बताउनुभयो ।

नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ शुक्रबार अपरान्ह उडेको बिमानस्थल कार्यालयले जनाएको छ । विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।क्वारेन्टाइनको सबै भवनमा गरि १८ वटा सिसि क्यामरा, ८ वटा टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ्ग मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधि लगायत दैनिक रुपमा आवश्यक सबै सामाग्री प्रत्येक बेडमा पुर्याईएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरि कोठाको व्यबस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ ।

क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुको साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरि व्यबस्थापन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवार सहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सक सहितको स्वास्थ्यकर्मी बस्नेगरि चारवटा भवनमा सबै संरचना जडान गरि व्यबस्थापन गरिएको छ ।

भवनहरु मध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरि कूल २०० जना क्षमता रहेको क्वारेन्टाईन तयार पारेको मन्त्रालयका अन्तर्गत संघीय सचिवालयका उपसचिव विदुर खड्काले जानकारी दिनुभयो ।

नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान ४ जना स्वास्थ्यकर्मी, ३ पाइलट, ७ जना क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरि १७ जनाको चिकित्सक सहितको टोली गएको छ । विमानमा चीनबाट पुरुष १४३ जना, महिला ४२ जना र विदेशी नागरिक हुण्डुरसकी एक महिला गरि १८६ जनालाई चीनबाट आईतबार बिहान ३ बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याईपुर्याउने तयारी छ ।

त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँचवटा बसमा राखेर र एम्बुलेन्ससंगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर सुरक्षाकर्मीले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइनेछ । दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा. नविन फँुयालको नेतृत्वमा नर्स समेत रहने स्वास्थ्य टोली क्वारेन्टाइन भित्र रहनेछ भने बाहिर नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी सहितको संयुक्त चिकित्सक टोली तयारी अबस्थामा बाहिर रहनेछ ।

मनोरञ्जनका खेल खेल्ने व्यबस्था गरिएको छ । कोठा भित्रै बस्ने नभई कोठाबाट बाहिरक्वारेन्टाईन भित्रको निश्चित क्षेत्रमा हिडडुल गर्न पाईनेछ ।

क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र १४ दिनमा स्वास्थ्य जाँच एवं रगत संकलन गरिनेछ भने अरु दिन व्यक्ति स्वंयमले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ ।

कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरि स्वास्थ्य जाच गरिनेछ । जाँचमा शंकास्पद देखिए क्वोन्टाईन अगाडि तयारी अबस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले बिभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाईनमा रहदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाईन अगाडि आगन्तुक कक्षमा यहाँको अबस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन विहान ब्रके फास्ट, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यबस्था गरिएको छ । ६ वटा खानाहरु संकलन केन्द्रमा राखिए पछि कन्ट्रोल रुमबाट माईक मार्फत जानकारी गराएपछि खाना लिने व्बयस्था गरिएको छ ।

क्वारेन्टाईनमा रहदाँ अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैनभने क्वारेनटाईन अगाडि अभिभावकलाई प्रत्येक दिन यहाँको अबस्थाबारे जानकारी गराउने व्यबस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाईन बाहिर संचारकर्मी कक्षको व्यबस्था गरिएको छ ।

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी टैंकीदेखि बढी भएको खाना व्यबस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाईएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाईन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।

क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै आईशोलेसन वार्डमा हुने जतिकै सुविधा सहितका व्यबस्था गर्दै भवनमा रंगरोगन, गार्डेन निर्माण, भौतिक संरचना एवं विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने बेडदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानहरुको व्यबस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

चीनबाट फर्कने नेपालीलाई लिन जाने पाईलट, को–पाईलट, परिचारिका र सफाई गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाईनमा राख्ने व्यबस्था गरिएको छ । सबै व्यबस्थापनका लागि सरकारको करिब ६ करोड रुपैया खर्च हुने भएको छ ।

स्थानीयबासिन्दामा त्रास नहोस भनेर आजसम्ममा नेपाली सेना बीरदल गणका गणपति कर्नेल शिव पौडेल सहितको संयुक्त सुरक्षा टोलीले जनचेतना अभिबृद्दि गरेका छन् ।

स्थानीयबासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सक सहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण समेत गर्ने भएको छ ।

सरकारले कोरोना भाईरसको संक्रमण नभएका, स्वस्थ्य व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारीले आग्रह गर्नुभयो ।

क्वारेन्टाइनमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाईएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।चीनबाट ल्याईने नेपालीमा भाईरसको संक्रमण नहुने दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाईनमा राख्नु पर्ने भएकाले यस्तो व्यबस्था गरिएको बताउनुभयो ।

यसअघि चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानिय्वासीका बिच झडप भएको थियो । स्थानीयले एक सातादेखि बिरोध गर्दै आएको र बिरोध जारी रहेको नगरकोटका धनबहादुर लामाले बताउनु भयो । स्थानीयवासीले सरकारले जनचेतना र स्थानीयलाई बिश्वस्त तुल्याउनुको साटो दमन गर्न खोजेको बिरोधमा सरकार र जनप्रतिनिधिको बिरोध समेत गरेका छन् ।

पत्रकार र प्रहरीबीच तनाव

भक्तपुरको खरिपाटी भएको ‘रिहर्सल’ को तस्विर र भिडियो लिन गएका संचारकर्मीहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले रोक लगाउनुको साथै अभद्र व्यबहार गरेका छन् । संचारकर्मीलाई प्राधिकरणको मूल गेटबाटै रोक लगाउनुको साथै संचारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र संचारकर्मीबिच निकैबेर घम्साघम्सी चलेको थियो । संचारकर्मीले बिरोध गरेपछि क्वारेन्टाईन स्थल अगाडिसम्म प्रवेश गरेपनि क्वारेन्टाईनको तस्विर लिनभने रोक लगाईएको थियो ।

संचारकर्मीले सरकारको तयारीका बारेमा जानकारी दिन पनि तस्विर र भिडियो आवश्यक छ भनेर माग गर्दा पनि रोक लगाईएको थियो । संचारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यबहार गर्नु खेदजन्य रहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो–“संचारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याईएकालाई राखिदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम गरेको छ, यसले सरकारको तयारीबारे शंका जन्माएको छ ।” सुरक्षाकर्मीले संचारकर्मी माथि गरेको अभद्र व्यबहारको संचारकर्मीहरुले बिरोध गरेका थिए ।

प्रहरीले पत्रकारलाई समाचार सम्प्रेषणमा ब्यबधान गर्न खोजेपछि पत्रकार र प्रहरीबीच केहीबेर तनाव भएको थियो ।शनिबार पनि पत्रकार महासंघ भक्तपुर र संचारकर्मीको दबाबका बाबजुद रासस र नेपाल टेलिभिजनका संचारकर्मीलाई मात्र क्वारेन्टाईनस्थलमा छिर्न दिईएको छ ।अन्य मुलधारका संचारगृहका संचारकर्मीलाई निषेध गरिएको छ ।