छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु


काठमाडौं ।

काठमाडौं, चितवन, झापा, कैलाली, मोरङ, मकवानपुर, सिरहा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१५ भगवानपाउस्थित सडकमा बा.३ ख ५१३४ नम्बरको ट्याङ्करले प्रदेश नम्बर ३-०२-००४ प ११५१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-३ घर भएका २१ वर्षीय साइरस गिरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे भुम्लु गाउँपालिका-१२ घर भई हाल काठमाडौं लाजिम्पाट बस्ने १८ वर्षीय प्रज्वल ठकुरीलाई मनमोहन अस्पताल स्वयम्भू हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल रिफर गरिएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनकाे भरतपुर महानगरपालिका-१० स्थित सडकमा ना.२९ प ८८४५ नम्बरको स्कुटर र ना.५२ प ८५६७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटरका चालक सोही महानगरपालिका-७ बस्ने ६२ वर्षीय दिबाकर घिमिरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापाकाे बाह्रदर्शी गाउँपालिका-२ गच्छीमारीमा मे.१ त ६८२३ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुनिल मुर्मुको मेची अंचल अस्पताल भद्रपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-२ तेघरीमा से.७ प ४०७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय पदम निधी पण्डितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङकाे सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को.३७ प १७ नम्बरको मोटरसाइकल र को.३४ प ६६०२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा को.३७ प १७ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैचा नगरपालिका-८ बस्ने २२ वर्षीय बिशाल खत्री र को.३४ प ६६०२ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

यसैगरी मोरङकाे बुढीगंगा गाउँपालिका-१ ढाटस्थित सडकमा को.१ ख ७३०९ नम्बरको टिपर र प्रदेश २-०१-००१ प १६०८ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनिया गाउँपालिका-२ बस्ने २८ वर्षीय हरेराम साह र मोटरसाइकलमा सवार सिरहा सुखिपुर नगरपालिका-२ बस्ने २४ वर्षीय मोहमद अजिर राईनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका उक्त मोटरसाइकलमा सवार सप्तरी रुपनी बस्ने १९ वर्षीय धनराज यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरकाे मनहरी गाउँपालिका-६ सुनाचुरीमा ना.६ ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार रुपन्देही रोहनी नगरपालिका-६ बस्ने २७ वर्षीय अक्बर खानको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार रोहनी नगरपालिका-६ बस्ने ५० वर्षीय मक्बुल महरु मुसलमानको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाकाे मिर्चैया नगरपालिका-२ मल्हनियाँ चोकमा ना.५ ख ४९९२ नम्बरको बसले ज.११ प ६३६४ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-९ डुमरी बस्ने ५५ वर्षीय सुफिलाल यादवको मंगलमा अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीकाे कमलामाई नगरपालिका-११ स्थित सडकमा ना.३ त ३८९७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने जय बहादुर वाईबाकी छोरी ४  वर्षीया यस्तर वाईबाको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ