प्रदेश १ सरकारको दुई वर्षः जनतामा आशा जगाउँदै बित्यो


सरोज यादव, विराटनगर ।

प्रदेश १ सरकारले प्रदेश सरकार गठन भए यताको दुई वर्ष उपलब्धिमुलक भएको दाबी गरेको छ । प्रदेश सरकारले दुई वर्ष पार गरेको अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा सरकारका कामको समीक्षा गर्दै २ वर्ष संघीयता कार्यान्वयका लागि अत्यावश्यक आधारहरु तयार गर्दै अघि बढ्ने अवसरमा प्रयोग भएको बताईएको छ ।

२ वर्षे कार्यकालमा प्रदेश सरकार कतै नचुकेको, काहीँ नझुकेको र काहीँ गलत काम नगरेको मुख्यमन्त्री शेरधन राईले दाबी गर्नुभयो । उहाँले दुई वर्षमा कम्तीमा जनताका न्युनतम आकांक्षाहरुलाई सम्बोधन गर्दै आगामी दिन र भविष्यको लागि दरिलो आशा, विश्वास र भरोसा जगाउन सफल भएको बताउनुभयो । उहाँले दुई वर्षमा ४९ कानुन निर्माण भएको बताउँदै प्रदेशको राजधानी तोक्ने काम महत्वपूर्ण भएको र प्रदेश १ को प्रदेश सभाले सहमति र सहकार्यको अनुपम नमुना प्रस्तुत गरेको बताउनुभयो ।

त्यस्तै पूर्वाधार तर्फ २७ किलोमिटर कालो पत्रे सडक, १ सय २९ किलोमिटर सडक ग्राभेल, १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएको बताउँदै मुख्यमन्त्री राईले प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा ६२ वटा बहुवर्षीय सडक, ७७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १ सय २६ वटा मोटरेवल पुल र १ सय १४ वटा झोलुङ्गे पुलको निर्माण प्रक्रिया तीव्ररुपले अघि बढेको बताउनुभयो ।

मुख्यमन्त्री राईले खेतीयोग्य जग्गामा सिँचाई र्पुयाउन १ सय २९ वटा योजनाहरु सम्पन्न भएको तथा ६ सय ३१ वटा योजनाहरु निर्माणधिन अवस्थामा रहेको र खानेपानी तर्फ १ सय १० आयोजना सम्पन्न भएको र ९ सय ४९ वटा आयोजना निर्माणधिन रहेको बताउनुभयो ।

त्यसैगरी जनता आवास कार्यक्रम अन्तरगत १ सय ७१ वटा घर निर्माणको काम भएको, प्रदेश लोकसेवा आयोग, लगानी बोर्ड गठन भएको, सडक सञ्जालको १० वर्षे गुरुयोजना तयार भएको, मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना,मिल्क होलिडेको अन्त्य, परियोजना बैंकको स्थापना,म अघि बढ्छु, डिजिटल साक्षरता कार्यक्रम, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम लगायतका कार्यक्रमको सुरुवात गर्नुका साथै वैज्ञानिक सम्मेलन पनि गरिएको सरकारका काममा उल्लेख गरिएको छ ।

स्विट्जरल्यान्ड सरकारबाट १ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त गरी प्रदेश १ सरकार पहिलो विदेशी सहायता पाउने प्रदेश भएको पनि उपलब्धिकारुपमा लिईएको छ । मुख्यमन्त्री राईले गत वर्ष ५ प्रतिशत भएको विकास खर्च अहिले २५ प्रतिशत पुग्नु पनि उपलब्धीका रुपमा लिईएको बताउनुभयो । उहाँले प्रदेश १ सबैभन्दा बढी पूँजीगत खर्च गर्ने प्रदेश भएको पनि बताउनुभयो ।

अहिलेको ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट कार्यान्वयनमा छ । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले जनताका अपेक्षा सम्बोधन गर्दै अगाडी बढेको भन्दै प्रशंसा गर्नुभयो  । प्रदेश प्रमुख प्यासीले शान्ति सुरक्षा, विकास निर्माण , सुशासन तथा समवृिद्ध कायम गर्न प्रदेश सरकार सफल भएको वताउनुुभयो ।

उहाँले आगामी दिनमा पनि सरकारले आफनो कामकार्वाहीलाई प्रभावकारी रुपमा अगाडी वढाउदै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सरकारका मुख्य काम समेटिएको ‘प्रदेश सरकारका दुई वर्ष ’ नामक पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।