सरकारको विरोधमा तरुण दलले निकाल्यो मसाल जुलुस

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल तरुण दल भक्तपुरले आज सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । ललिता निवास प्रकरणमा तत्कालिन मन्त्रीमण्डलको नीतिगत निर्णय हुँदाहुदै पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कांग्रेस नेता विरुद्ध मुद्धा दायर गर्न सिफरिस गरेको तर नेकपाका नेता विरुद्ध मुद्धा दायर गर्न सिफारिस नगरेको भन्दै तरुण दलले मसाल जुलुस निकालेको हो । दलले बाखा बजारदेखि शंखाधर चोक सम्म विभिन्न नारा सहित मसाल जुलुस निकालेको हो ।

तरुण दलले आवश्यक कारबाहीका लागि कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन भन्ने मुल नाराका साथ मसाल जुलुस निकालेकोे नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले बताउनुभयो । मन्त्रीपरिषद्का अध्यक्षलाई जोगाउने तर सोही परिषद्का सदस्यलाई मुद्धा लगाउने अख्तियारको नियत गलत भएको अध्यक्ष थापाले बताउनुभयो ।

उहाँले एउटै केसमा कसैलाई मुद्धा चल्ने र कसैलाई नचल्ने हुँदैन भन्दै अख्तियारले सबैलाई अदालतमा उभ्याउनुपर्छ तर यो प्रकरणमा अख्तियार सरकारको लाचार छायाँ भएको र सरकारले आफ्ना दलका नेतालाई जोगाएर अन्य दलका नेतालाई मात्र दोष थोपर्न खोजेका आरोप लगाउनुभयो ।

ललिता निवास प्रकारणमा अख्तियारले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालिन मन्त्रीद्धय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ लगायत एक सय ७५ जनाविरुद्ध गत माघ २२ मुद्धा दायर गरेको थियो ।