मोटर चल्दा, बत्ति बल्दा लिदीगाउँमा खुसियाली

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

विकट भुगोल, जुगल गाउँपालिकाको लिदीगाउँलाई सिन्धुको ‘कर्णाली’ भनेर चिनिन्थ्यो । भीरको बाटो, लिदीगाउँबासीका लागि ‘पीर’ बन्दै आइरह्यो । नाकै ठोकीएला झैं लाग्ने भीरको त्यही बाटो हुँदै लिदीबासीले बर्षौदेखि नुनतेल र खाद्यान्न सँगै दुखका भारी खेप्दै आए ।

कुनै फिल्मका कथा झैं लाग्ने लीदीवासीको जीवनशैली अब फेरिँदैछ । मोटरबाटो र बिजुली पुगेपछि यतिबेला लिदीगाउँको लय बदलिएको छ । अन्धकारमय लिदीगाउँमा उजयालो छाएको छ ।

भौगोलिक बिकटतामा बाँचीरहेका लिदीबासी अब सडक सञ्जालले बजारकेन्द्रसँग जोडीएका छन् । ‘मोटर चल्यो, बिजुली बल्यो’, साताअघि प्राधी– लिदी ग्रामीण सडक र बिजुली बत्तिको एकसाथ उद्घाटन भइरहँदा स्थानीय अगुवा आशलाल दोङले खुसी पोख्नुभयो,–‘दुखमै जीवन धान्यौँ, अव सन्तानले सुख पाउने भए ।’

बागमती प्रदेश सरकार र जुगल गाउँपालिकाको पहलकदमीले लिदीगाउँबासीको सडक सपना साकार भएको छ । भीर फोरेर बलेफी हाईड्रोपावरको साईट कार्यालय रहेको प्राधी(भीरफेदी) बाट लिदीगाउँसम्म मोटर चल्ने सडक ट्रयाक सुचारु भएको छ ।

प्रदेश सांसद सरेश नेपाल, गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठसहित स्थानीय जनप्रतिनीधिहरु साताअघि मोटर चढेरै लिदी गाउँमा पुग्नुभयो । मोटरमै सरर लिदीगाउँ पुग्नुभएका सांसद नेपासहितको टोली भूकम्पपछि बनेका लिदीगाउँका पुरानै शैलीका घरहरुमा झिलिमिली बिजुली बल्दा मन्त्रमुग्ध देखियो ।

‘सडक र बिजुली यहाँका लागि सपना जस्तै थियो’, बागमती प्रदेशसभाका अर्थ तथा बिकास समिति सभापति एवम प्रदेश सांसद सरेश नेपालले भन्नुभयो, –‘निकै मेहनतले आज लिदीगाउँसम्म मोटर चल्यो, बिजुली बल्यो ।’ सडक र बिजुलीको हर्षेल्लास मनाइरहेका लीदीबासीहरुलाई बधाई दिँदै सांसद नेपालले सडक र बिजुली अब यस भेगको जनजीवनसँग जोडीनुपर्नेमा जोड दिनुभयो ।

प्राधी–लिदी सडकका लागि प्रदेश सांसद नेपालको पहलमा ३० लाख रुकम विनियोजन भएको थियो । जुगल गाउँपालिकाले यहि सडकका लाथि थप १५ लाख बजेट विनियोजन गरेपछि ४५ लाखको लागतमा भीरफेदी(प्राधी) देखी लिदीसम्म सडक सुचारु हुन सकेको हो । स्थानीय तहमा सरकार बनेसँगै आज लिदीजस्तो बिकट भुगोलमा सडक पुग्न सकेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारसँगको समन्वयमा स्थानीय सरकारको बिशेष पहलकदमीले लीदीगाउँमा सडक पु¥याइएको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो ।
सडकको माग गर्दै लीदीगाउँका अगुवा आशलाल दोङेसहित फुलकाजी दोङ, विवेक दोङलगायतका मानिसहरु प्रदेृश सांसद सरेश नेपालकोमा पुगेका थिए ।

दश लाख रुपियाँ बजेट माग्दै लिदीबासी भेट्न आएपछि सांसद नेपालले पहल गरेर यो सडकका लागि ३० लाख बजेट बिनियोजन भएको थियो ।‘लिदीसम्म सडक पुर्याउनु हाम्रो पनि ठूलो सपनाको बिषय थियो, दश लाख मात्र पठाएको भए पैसा सकिन्थ्यो तर सडक पूर्ण हुँदैनथ्यो’, सांसद नेपालले भन्नुभयो ।

साना मोटर चल्नेसम्मको सडक ट्रयाक सुचारु भएपनि यो सडकको स्तरोन्नती गर्नुपर्ने अवस्था टड्कारो छ । यो सडक स्तरोन्नती गर्दै नियमित रुपमा मोटर चल्ने बनाइदिन स्थानीयले प्रदेश सरकार र स्थानीय सरकारसँग आग्रह गरेका छन् । ‘सडक त खुल्यो तर मोटर चल्न सहज छैन’, स्थानीय विवेक दोङले भन्नुभयो, –‘स्तरोन्नतीका लागि माननीय ज्यू र गाउँपालिका अध्यक्ष ज्यूले पहल गरिदिनुपर्छ ।’

लिदीगाउँको बिद्युतिकरणका लागि स्थानीयबासी पनि एकजुट भएर लागे । प्रदेश सरकारसँगको समन्वयमा बिद्युत प्राधिकरणले लिदीगाउँमा बिद्युतिकरणको काम सुरु गरेको थियो ।

गाउँपालिकाले आवस्यक बजेट उपलव्ध गराएर बिद्युतिकरणका लागि आवस्यक सामाग्री लिदीगाउँसम्म पुर्याइदिएको थियो । स्थानीयबासीको सहयोगका कारण भीर भीरमै पोल उठाउँदै तार तानीएको लिदीगाउँको बिद्युतिकरणको ठेक्का पाएका निर्माण व्यवसायी रामचन्द्र थापाले बताउनुभयो ।