‘शंका गरिएको लक्षण कोरोना भाइरस होइन’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

माघ २८ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा शंका गरिएको मिल्दोजुल्दो लक्षण कोभिड–२०१९ (कोरोना भाइरस) नभएको जनाइएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरसको मिल्दोजुल्दो लक्षण सामान्य ज्वरो, रुघाखोकी लक्षण देखिएको र गम्भीर बिरामीहरु नभएको बताइएको छ ।

जुगल गाउँपालिकाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखिएको र सामाजिक विकास मन्त्रालयलाई बोधार्थ दिएर माघ २८ को पत्रमा गाउँपालिका–३, गुम्बामा कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षण भएका बिरामी देखिएको जानकारी प्राप्त भएको थियो ।

मन्त्रालयले जानकारी पाउनासाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुखसहित स्वास्थ्यकर्मीको टोली २८ गते नै पुगेको थियो । स्वास्थ्यकर्मी टोलीले स्थलगत अध्ययन गरी दिएको जानकारीअनुसार उक्त स्थानमा कुनै पनि व्यक्ति चीनमा आवतजावत गरेको नपाइएको र बिरामीमा सामान्य ज्वरो, रुघाखोकीको लक्षणमात्र देखिएको मन्त्रालयलाई सूचना प्राप्त भएको हो ।

स्वास्थ्य टोलीका अनुसार माघ २३ गतेबाट उक्त लक्षण भएका बिरामी स्वास्थ्य संस्थामा दर्ता हुन आएको र माघ २९ गतेसम्ममा एक सय ५९ जनाले सेवा लिएका थिए । सेवा लिन आउने कोही पनि सिकिस्त नभएको मन्त्रालयको प्रेसविज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त विषयमा थप अध्ययन एवम् प्रतिकार्य गर्न जलथिरे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहित टोलीले गाउँपालिका पुगी सेवा प्रदान गरेको थियो । थप अनुसन्धान तथा बिरामीबाट नमूना संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र चौतारा अस्पतालबाट डा. स्वेता श्रेष्ठको नेतृत्वमा ल्याब टेक्निसियनसहित चार जनाको टोली उक्त स्थानमा परिचालन गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुबेदीका अनुसार बागमती प्रदेशमा कोरोना भाइरसका कुनै शंकास्पद् बिरामी देखापरेका छैनन् । विशेषज्ञ अनुसन्धान र निदान एवम् किटानीबिना कुनै अफवाह र भ्रममा नपर्न मन्त्रालयले अपिल गरेको छ ।