टाटा सुमोले स्कुटरलाई ठक्कर दिँदा दुई गम्भीर घाइते

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पोखराबाट बागलुङ्ग जाँदै गरेको टाटा सुमोले बिहीबार साँझ कुस्माबजारमा स्कुटरलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन ।

ग १ ज ८५८२ नम्बरको टाटा सुमोले पर्वतको कुस्मा नगरपालिका वडा नं ४ गुप्तेश्वर क्याम्पस नजिक ठक्कर दिँदा ध१प ३३९५ नम्बरको स्कुटीमा सवार पर्वतको कुस्मा नगरपालिका वडा नं ४ का ५४ वर्षीय बाबुराम सापकोटा र सोही ठाउँकी १८ वर्षीया शान्ति सुनार गम्भीर घाइते भएका छन ।
घाइते सापकोटा र सुनारको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । सापकोटाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्कुटरलाई ठक्कर दिएपछि भागेको टाटा सुमो र चालकलाई प्रहरीले कुस्मा नगरपालिका १ मालढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

यो सातामा पर्वतको कुस्माबजारमा नै भएका तीन वटा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन ।