दुर्गा प्रसाई बिरुद्ध कानुनी लडाईं जारीः उपाध्यक्ष डा. गिरी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सुटुक्क हाजिर भएर छुटेका छन् ।

उनी बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए । हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् । प्रजिअ पाण्डेले उनका बारे अन्तिम निर्णय नभए सम्मका लागि साधारण तारेखमा छाडिएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका छन् ।

प्रसासनले प्रसाईंको बयान पछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको हो । प्रसाईंलाई एक महिना खोज्दा पनि भेट्न सकेको थिएन । रु२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण  गिरीले मानहानीको मुद्दा हालेका थिए । प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा गिरीले उजुरी दिएका थिए ।

तर यस प्रसाई साधारण तारेखमा छुटेको बारे आफुलाई प्रसासनले केही केही थाहा नदिएको र केही थाहा नभएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रतिकृया दिनुभयो ।गिरीले आफ्नो तर्फबाट प्रसाई बिरुद्धको कानुनी र प्रसासनिक लडाईं जारी रहेको बताउनुभयो ।

अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति पाए लगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निकोसेरा नजिकको निवासमा पुगेको थियो ।तर उनी घरमा हालसम्म नभेटिएको प्रहरीको भनाई थियो । शिक्षा मन्त्री गिरिराज पोखरेल निकट मानिएका उपध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।

प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई गत २ माघमा अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै असन्तुष्टि जनाएका थिए ।गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए। मानहानीको मुद्दाका बारेमा काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो ।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखित रुपमा अदालत समक्ष राख्न आदेश दिइएको हो। जिल्ला प्रशासनले पक्राउ गर्न अनुमति दिएको यति दिनसम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

प्रसाईंले भने १० माघमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको पक्राउ पुर्जीविरुद्ध वारेस मार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पक्राउ आदेश रोक्न माग गर्दै रिट दायर भए पनि सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थिएन ।सर्वोच्चले १५ दिनभित्र भक्तपुर जिल्ला प्रशासनलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने कारणसहित लिखित जानकारी दिन आदेश गरेको थियो ।

प्रहरी उपरीक्षक प्रधानका अनुसार प्रसाईंले सानोठिमीस्थित आयोगमा १५१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाएका थिए। उक्त समूहले आयोगका उपाध्यक्षको मानहानी हुने गरी पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो।प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको अभिव्यक्ति दिँदै आएका छन्।सत्ताको नजिक रहेका प्रसाईं र गिरीको अन्तर द्धन्द्ध आम चासोको बिषय समेत बनेको छ ।

वारेस मार्फत सर्वोच्चमा रिट दायर गरेका प्रसाईं अचेल सार्वजनिक रूपमा कतै उपस्थित भएका थिएनन् । अदालतले पक्राउ अनुमतिविरुद्ध अन्तरिम आदेश जारी गर्नुअघि दुवैपक्षलाई छलफलका लागि बोलाएपछि प्रसाईं समस्यामा परेका थिए । नेकपाको एकता प्रकृयाको बेला तत्कालिन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित घरमा वार्ता गर्ने वातावरण मिलाई मार्सी चामलको खाना दिएर प्रसाईं चर्चामा आएका थिए ।

उनले दुई कम्युनिष्ट पार्टीलाई एक हुने वातावरण तयार पारेर देशकै लागि योगदान गरेको बताउँदै आएका छन् । डा. गिरी पनि यही सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पत्याएको र नियुक्त गरेका बिश्वासपात्र नै हुन् ।

अदालतले अन्तरिम आदेश नदिएपछि पक्राउ गर्न बाटो खुलेको थियो।प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने प्रसाईंको माग छ। गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर पैसा मागेको आरोप प्रसाईंको छ।

यता नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको योग्यताको छानविन गर्न माग गरेकी थिईन् ।यसैगरी शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले पनि यही माघ २४ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि लागेको भ्रष्टाचारमाथि छानबिन भएर कारबाही नभए आफू अनशन बस्ने घोषणा गरेका थिए ।

सत्ताकै एक धार नजिक रहेका गिरी र अर्को धार नजिक रहेका प्रसाईं यी दुई बिचको मुद्धाको टुंगो कसरी लाग्ने हो थप चासोको बिषय बन्दै गएको थियो ।दुईबिचको मुद्धाको समाधान सत्ताधारी दलभित्रै बाट चिया कपको तुफान जस्तो त्यत्तिकै मत्थर हुँदै जाने देखिएका छ । त्यसो त उनीहरुबीचको अदालती मुद्दा भने कसरी टुंगिने हो प्रतीक्षाको विषय भएको छ ।