सप्तकोशीमा सन्चालित पानी जहाज बन्द

0
Shares

सरोज यादव, विराटनगर ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने र प्रदेश १ ले ५ लाख पर्यटक भित्राउने लक्ष्य राखी विभिन्न कार्यक्रमहरु सन्चालन गरिएपनि पर्यटन पूर्वाधारका रुपमा रहेको जलयातायातमा निरासा देखिएको छ । जल यातायातका लागि पछिल्लो समय चर्चित बन्दै गएको सप्तकोशी नदीमा संचालित पानी जहाजहरु सुरक्षाको कारण देखाउदै बन्द भएका छन ।

सप्तकोशीका पानीजहाज संचालन भएयता त्यहाँ ठूलो सख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु जलविहार गर्नका लागि पुग्ने गरेका थिए । जल यातायात व्यवसायी महासंघमा आबद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म संचालन हुँदै आएका विभिन्न ७ वटा पानी जहाजहरु सुरक्षाको कारण देखाउदै बन्द गरिएका हुन ।

महासंघले आज विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको छ । महासंघका सदस्य राजेन्द्र कार्कीले स्थानीयको अवरोधका कारण संचालनमा समस्या उत्पन्न भएपछि सहिदभूमिको त्रिवेणीमा पानी जहाजहरु रोकिएको बताउनुभयो ।

उहाँले स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो । सो ठाँउमा बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टस प्रालिले सात वटा पानीजहाज सञ्चालन गर्दै आएका छन ।

सप्तकोसीमा दुई वर्षअघि पानी जहाज परीक्षण गरी सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो । सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सात वटा पानीजहाज चल्दै आएका छन् । चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानीजहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो भने पर्यटकलाई समेत सहज भएको थियो ।

तराई झर्ने र पहाडतर्फ जानेहरू हिँडेर जाँदा निकै लामो समय लागे पनि भोजपुरको सिम्लेसम्म १२ देखि १५ मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी तथा बैज्ञानिक र बैधानिक भाडा निर्धारण भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।