अवैध उत्खननले सिङ्गो बस्ती जोखिममा

0
Shares

सरोज यादव, मोरङ ।

मोरङको ग्रामथान गाउँपालिकाको लोहन्द्रा खोलामा मापदण्डविपरीत उत्खनन् भइरहेको फेला परेको छ । जथाभावी गरिएको उत्खनन्का कारण त्यसक्षेत्रको सिंगो बस्ती जोखिममा परेको छ ।

ग्रामथान गाँउपालिकाको वडानम्बर ४ मोतीपुर र बेलबारी नगरपालिकाको सिमाना भएर बग्ने लोहन्द्रा खोलामा मापदण्डविपरीत गिट्टिबालुवा उत्खनन् भइरहेको फेला परेको छ । उत्खननका कारण खोलाको सतहका साथै खोला क्षेत्रमा ८ फिट बढी गहिरो खाडल परेको छ । सतह गहिरो भएका कारण खोलाले छेउछाउका कृषियोग्य जग्गाहरु कटान गर्न थालेको छ ।

खोलाले कटान गर्न थालेका कारण आफूले ५ बिग्घा क्षेत्रफलमा लगाएको जंगलसमेत कटानमा पर्ने अवस्था सृजना भएको स्थानीय प्रकाश सरदारले बताउनुभयो । मापदण्डविपरीत उत्खनन् नगर्न आग्रह गर्दा उत्खननमा संलग्न ब्यक्तीहरुले धम्क्याउने गरेको उहाँको भनाइ छ । दिन बिराएर जेसिबी प्रयोग गरि खोलाको सतह खनेर गिट्टि बालुवा निकालेर थुप्रार्ने अनि ट्रयाक्टर तथा ट्रिपरबाट ओसार्ने गरिएको स्थानियले जानकारी दिएका छन् ।

उत्खननका कारण भोला चोकको छेउसम्मै आइपुगेको पैनी, सार्वजनिक बाटो र ११ लाख बढी रकममा निर्माण गरिएको आर्यघाटको संरचना कटानमा पर्ने जोखिम बढेको स्थानीयको भनाइ छ । सतह गहिरो भएका कारण चौपायालाई चरनमा लान र खोला वारपार गर्दा डूब्ने खतरासमेत बढेको स्थानीय भगवती चौधरीले बताउनुभयो । उता उत्खननमा खटिएका संजोग माझीले आफूहरुले नियमसंगतले नै गिट्टी बालुवा निकालेको दाबी गर्नुभयो । वडा कार्यालयको सिफारिसकै आधारमा ४ फिटमात्रै उत्खनन् गरिएको उहाँको भनाइ छ ।

खोला उत्खनन्का विषयमा प्रतिक्रिया दिंदै ग्रामथान–४ का वडाध्यक्ष बैजनाथ विश्वासले बेलबारी, सुन्दरहरचौ र ग्रामथान गाउँपालिकाले संयुक्तरुपमा त्यसक्षेत्रमा खोला ठेक्का लगाएको जानकारी दिनुभयो । बस्तीलाई असर नपर्ने गरि खन्ने अनुमति दिइएको बताउनुहुँदै उहाँले मापदण्डविपरीत भएको गुनासो आएपछि तत्काल उत्खनन रोकिएको दाबी गर्नुभयो । खोलामा क्षेत्र निर्धारण नगरी जथाभावी खन्दा गहिरो खाडलमा परि नुहाउन पुगेका एकजना बालकको गत वर्ष मृत्यु भएको स्थानीयले बताएका छन । सो घटनामा मृतकका अभिभावकलाई उत्खनन गर्ने समुहले नै क्षतिपुर्ति दिएर घटना सामसुम पारेको उनीहरुको भनाइ छ ।