कांग्रेसले २ लाख ५० हजार क्रियाशिल सदस्य थप्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।  

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साढे दुईलाख नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । १४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेसंगै कांग्रेस भित्र क्रियाशिल सदस्यको संख्या ७ लाख ५० हजार पुग्ने भएको छ ।

कांग्रेस केन्द्रिय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशिल सदस्य छन् । बुधवार बसेको केन्द्रिय समिति बैठकले विद्यमान संख्याको ५० प्रतिशत नया क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको हो । कांग्रेस भित्र महाधिवेशनमा नेतृत्व हत्याउने भोटको राजनीतिका साथ क्रियाशिल सदस्यता वितरण गरिने हुदा प्राय विवाद आइरहने गरेको छ ।

१३औं महाधिवेशनमा पनि क्रियाशिल सदस्यता वितरणमा विवाद आएपछि केन्द्रिय सदस्य नरहरी आचार्यको संयोजकत्वमा क्रियाशिल सदस्यता छानविन समिति गठन गरिएको थियो । अहिले पनि काग्रेसले क्रियाशिल सदस्यता छानविन समिति गठन गरिने निर्णय गरिसकेको छ ।

कांग्रेस भित्र नगर सम्मको कार्यसमिति क्रियाशिल सदस्यहरुको प्रत्येक्ष निर्वाचन बाट बन्ने गर्छ । वडा बाट प्रदेश र प्रतिनिधिसभाको लागि क्षेत्रिय प्रतिनिधि छनौट गर्ने काम पनि क्रियाशिल सदस्यहरुबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रिय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनौट हुन्छ । कांंग्रेस भित्र क्रियाशिल सदस्यता वितरणमा सधै विवाद किन भैरहन्छ भन्ने जिज्ञासामा कांग्रेस नेता रामहरि खतिवडा भन्नुहुन्छ– महाधिवेशन प्रतिनिधि क्रियाशिल सदस्यहरुले नै छान्ने भएकोले नेताहरु केन्द्रिय सभापति तथा पदाधिकारी र केन्द्रिय सदस्य बन्न आफ्नोलाई मात्र क्रियाशिल सदस्य दिन चाहने भएकोले विवाद भैरहन्छ ।

क्रियाशिल सदस्यता वितरणमा भैरहने विवादका बारे काभ्रे कांग्रेसका नेता रमेश हुमागाई भन्नुहुन्छ– जो कांग्रेस भित्र वास्तविक रुपमै क्रियाशिल भएर लागेको छ उस्लाई क्रियाशिल सदस्यता नदिने भएकोले विवाद आइरहेको हो । कांग्रेसमा क्रियाशिल सदस्यको नविकरण जिल्ला बाटै हुन्छ भने नयाँ क्रियाशिल सदस्य वितरण केन्द्रबाट हुन्छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले नया क्रियाशिल सदस्यता वितरण गर्न विधानको धारमा उल्लेखित कतिपय मापदण्डहरु निलम्बन गरेको छ । गत निर्वाचनमा फोरम लोकतान्त्रिक संग पार्टी एकिकरण गरेको कांग्रेसले फोरमबाट र अन्य पार्टी परित्याग गरि आउनेलाई क्रियाशिल सदस्यता दिन क्रियाशिल सदस्यता सम्बन्धि विधानको धारा निलम्बन गरेको हो ।

केन्द्रिय समितिले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी निलम्वन गरिएको धारमा क्रियाशिल सदस्यता प्राप्त गर्ने विभिन्न मापदण्ड थियो । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईका अनुसार केन्द्रिय समितिले धारा ४ (२) को “एक वर्ष पुगेपछि” धारा ४ (१०) (ञ) को “छ महिना” धारा ४ (१२) (ख) को “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको” धारा ३५ (२) (घ) को “भन्दा कम्तिमा एक वर्ष” र “तीन महिना” धारा ५० (६) को “छ महिना अगावै” र “छ महिना” लाई निलम्बन गरिएको छ ।