वुहानबाट फर्काइने नेपाली राखिने स्थानको तयारी पूरा, समाचार संकलनमा सहज पार्न आग्रह


पुष्कर बुढाथोकी, भक्तपुर ।

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पुरा गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा तोकेका क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कताका साथ स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको समन्वयमा काम भइरहेको बताउनुभयो ।

चीनबाट फर्काइने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित बिद्युत प्राधिकरण तालिम केन्द्रका भवनहरु खाली गरि क्वारेन्टाइनको उपयोगका लागि तयार भइरहेको निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

यस्तै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेज लगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालले क्वारेनटाईनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वार्टरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरि व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक दिन क्वारेन्टाईनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यबस्था गरिएको बताईएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले सरकारसंग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताउनुभयो ।

कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले भने कार्यक्रम बहिष्कार गरेको बताउदै केन्द्रीय सरकारले स्थानीय सरकारसंग समन्वय नगरी लाद्ने प्रयास गरेको भन्दै जनताको भावनाको कदर गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले स्थानीयबासिन्दाका लागि खरिपाटीस्थित सामुदायिक भवनमा नेपाली सेनाको एक, भक्तपुर अस्पतालको एक गरि दुई चिकित्सक सहितको टोल्लिे स्थानीय नागरिकको पनि निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरिने बताउदै स्थानीयमा संक्रमण भए सरकारले जिम्मा लिने बताउनुभयो ।

प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरमा क्वारेन्टाईन बनाएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।

चीनको कोरोना भाइरस संक्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको छ ।

नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाईने भएको हो । जहाजका पाईलट लगायतको टोल्लिाई चाँगुनारायण ६ नगरकोटको खानेपानी तालिम केन्द्रमा राख्ने तयारी गरिएको बताएको छ ।

विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ ।

यसैबीच चीनको वुहानबाट उद्दार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाईन निर्माणको काम भईरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई त्यसको समाचार संकलनका लागि खरिपाटी पुगेका संचारकर्मी तीनदिनदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले खेद व्यक्त गरेको छ ।

महासंघका सचिव कृष्ण नेपालद्दारा हस्ताक्षरित बिज्ञप्तीमा माघ २९ गते प्रेस विज्ञप्ती जारी गर्दै क्वोन्टाइनको अबस्था जानकारी लिने अधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ ।

महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे र भक्तपुरका एसपी सविन प्रधानले माथिको आदेश त्यस्तै भएकाले केही बोल्न र भित्र जान दिने अबस्था तत्काल नभएको प्रतिक्रिया दिएको बताउदै समाचार संकलन गर्ने अधिकारबाट बञ्चित गर्नु नहुने बताउनुभयो ।