निर्यात प्रबद्र्धनका लागि प्रदेश–१ का उद्योगी व्यवसायीलाई प्रशिक्षण


सरोज यादव, विराटनगर ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात प्रबद्र्धनका लागि प्रदेश–१ का उद्योगी व्यवसायीलाई प्रशिक्षण दिन सुरु गरेको छ । निर्यातजन्य वस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रशिक्षण बुधबारदेखि विराटनगरमा सुरू भएको हो । प्रशिक्षण सातवटै प्रदेशमा आयोजना गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश–१ को समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री कुसियैतले आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको बताउनुभयो ।

प्रदेश–१ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश–१ कृषिजन्य वस्तु उत्पादनका दृष्टिले राम्रो सम्भावना बोकेको प्रदेश भएकाले निर्यात प्रबद्र्धनका लागि कृषिजन्य उत्पादनको क्षमता बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले कन्ट्याक्ट फार्मिङका माध्ययमबाट ठूलो मात्रामा कृषिजन्य वस्तुको उत्पादन गर्नसके मात्रै निर्यात बढाउन सकिने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित वस्तुले आयात प्रतिस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश १ मा उद्योगी, व्यवसायीको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बस्नेतले बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश रेग्मीले दुनियाँमा निर्यात गर्न सक्ने देशले मात्रै आर्थिक विकास गर्नसक्ने भएकाले आर्थिक समृद्धिका लागि निर्यात आवश्यक रहेको धारणा राख्नुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा प्रदेशभरका ४० जना उद्योगी, व्यवसायीको सहभागिता छ ।