अपडेटः सेनाको गाडी भिरबाट खस्यो, एकको मृत्यु, ६ घाइते


न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते छन् ।  चारजनाको अवस्था गम्भीर छ । सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो कपुरकोट गाउँपालिकाको वडा नं ३ स्थीत चोरखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको चोरखोला स्थित सडकबाट छाँगामा गाडी खस्दा नेपाली सेनाका जमदार हेटौंडाका यादव प्रसाद धरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मेजर ईश्वर सिलवाल, जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, रोशन हिटन घाइते रहेका छन् । घाईतेहरुलाई कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयवासी तथा प्रहरी र सेनाले छाँगाबाट उद्धार गरि उपचारको लागि जिल्ला बाहिर पठाएका थिए ।

उनीहरुलाई तुलसिपुरमा सामान्य उपचार पश्चात नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ स्थित छाउनी अस्पतालमा लगिएको सेनाको १९ नम्बर बाहिनि अड्डा तुलसिपुरले जनाएको छ । स्थानीयका अनुसार भिर तथा जंगलभरि सेनाका हतियार र बम छरपस्ट थिए । दुर्घटना भएको गाडी सडकबाट देखिदैँन । दुर्घटना स्थलमा अहिले कसैलाई पनि जान दिएको छैन ।