दिल्ली धाउँदै राजपाका नेताहरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तत्काल सरकारमा जाने नजाने, पार्टी एकता गर्ने नगर्ने भन्ने दोधारमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरु दिल्ली धाउन थालेका छन् । महाधिवेशन समेत ओझेलमा पारेर नेताहरु दिल्ली धानन थाल्नुलाई आम चासोको रुपमा हेरिएको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य शरदसिह भण्डारी र वरिष्ठ नेता निर्जला राउत दिल्ली गए लगत्तै अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतो दिल्ली जानुभएको थियो । लगत्तै अर्का नेता राजकिशोर यादव पनि दिल्ली जानु भएको छ । पार्टीका महासचिव केशव झाका अनुसार नेताद्धय भण्डारी र राउत विहेको कार्यक्रममा सहभागि हुन दिल्ली गएका हुन भने महतो स्वास्थ्य उपचारको लागि दिल्ली जानुभएको हो । मंगलबार दिल्ली जानुभएका अर्का नेता यादव दिल्लीमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागि भैरहनु भएको छ ।

संविधान संशोधन लगाएतका मुद्धाहरुको संवोधन नभै सरकारमा सहभागि नहुने भन्ने बारेमा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले स्पष्ट पारिसकेको सन्दर्भमा राजपाका शीर्ष नेताहरु दिल्ली जानेक्रम बढ्नुलाई आम चासोका साथ हेरिएको विषयबारे सोधिएको प्रश्नमा महासचिव झा भन्नुहुन्छ– उहाहरु कुनै राजनीतिक कारणले दिल्ली जानु भएको हैन, व्यक्तिगत कामको लागि जानुभएको हो ।
सरकारमा जाने नजाने बारेमा राजपा भित्र विवाद छ । हालका संयोजक महेन्द्र राय यादव र महन्त ठाकुर पार्टी एकिकरणमा जानुपर्छ सरकारमा जानु हुदैन भन्ने पक्षमा छन भने अन्य नेताहरु सरकारमा जानुपर्छ भन्ने पक्षमा छन् । संसद बैठकमा अध्यक्ष मण्डलका संयोजक यादवले स्पष्ट रुपमा राजपा सरकारमा सहभागि नहुने भनेपछि अहिले राजपा पार्टी एकिकरण तर्फ अघि बढेको छ ।

राजपा भित्र पार्टी एकिकरण गरि संगठन सुदृढिकरण गर्न चर्को दवाब आइरहेको छ । केन्द्रिय सदस्य सबरकुमार प्रजापति भन्नुहुन्छ– हामिहरु उपत्यका आसपासका जिल्ला अध्यक्ष र केहि केन्द्रिय सदस्यहरुले यसवारेमा अध्यक्षमण्डलको ध्यानाकर्षण पनि गराईसकेका छौं । राजपाले संघीय समाजवादी पार्टीसंग पार्टी एकिकरण गर्न प्रक्रिया अघि बढाएको केन्द्रिय सदस्य प्रजापति बताउनु हुन्छ ।

राजपाका उच्च स्रोतले जानकारी दिए अनुसार समाजवादी संग पार्टी एकिकरण गर्ने पक्षमा पनि राजपा भित्र मत विभाजन छ । पार्टी एकिकरण गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, महन्त ठाकुर राजेन्द्र महतो लगाएका नेता छन भने विपक्षमा शरद सिंह भण्डारी, राजकिशोर यादव, अनिल कुमार झा लगाएका नेताहरु छन् ।

पार्टी एकिकरणका बारेमा राजपाका नेताहरु खोलेर बोल्न नचाहे पनि प्रक्रिया भने निकै अघि बढिसकेको स्रोतको भनाई छ । राजपा र समाजवादी पार्टी विच एकता गर्दा क्रमवद्ध रुपमा नेताहरु महन्त ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो शीर्ष पोजिशनमा रहेने छन भन्ने अन्य नेताहरु सचिवालय सदस्यका रुपमा रहने छन् । पार्टी एकिकरण गर्दा पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी राख्ने र चुनाव चिन्ह एउटा पार्टीको तथा झण्डा एउटा पार्टीको राख्ने सहमति नजिक पुगेको छ ।

पार्टी एकिकरणको पक्षमा रहेका हालका राजपा अध्यक्ष मण्डलका संयोजक यादवको अवधि एक महिना मात्र बाकी रहेकोले छिट्टै एकिकरण प्रक्रिया नटुङ्गीए लामो समय एकिकरण प्रक्रिया अघि नबढ्ने कतिपय नेताको बुझाई रहेको छ । एकमहिना पछि राजपा अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार दुई/दुई महिनामा शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल कुमार झा हुने भएकोले कम्तिमा ६ महिना एकिकरण प्रक्रिया अल्झिने स्रोतल बताएको छ ।