जागिर छोडेर व्यावसायिक बाख्रापालन

0
Shares

प्रताप बानियाँ, म्याग्दी।

२१ वर्षसम्म निजी कम्पनीमा काम गरेका एक व्यक्तिले जागिर त्यागेर व्यावसायिक बाख्रापालन शुरु गरेपछि अहिले वार्षिक २० लाख रुपियाँ आम्दानी गर्दै आइरहेका छन्। म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी काफलबोटका आनन्द रिजालले बाख्रापालनबाटै वार्षिक २० लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ।

शर्मा एण्ड कम्पनीमा सुपरभाइजर पदमा कार्यरत रिजालले २०७० सालमा जागिर छोडेपछि बाख्रापालन शुरू गर्नुभएको थियो। शुरुमा ८ वटा स्थानीय जातका बाख्रापालन शुरु गर्नुभएका उहाँले व्यावसायिक रूप दिएपछि ७२ वटासम्म बाख्रा पालेको बताउनुभयो। अहिले उहाँको खोरमा ठूला माउ र साना पाठापाठी गरी जम्मा ३३ वटा बोयर जातका बाख्रा रहेका छन्।

धौलागिरी व्यावसायिक बाख्रापालन बोयर मोडेल फर्म नै दर्ता गरी व्यवसाय शुरू गर्नुभएका रिजालको खोरमा हाल सबै बोयर (उन्नत) जातका बाख्रा छन्। बोयर जातको बाख्रालाई उन्नत जातको साथै उत्पादन राम्रो र आम्दानी आकर्षक हुने बाख्राका रुपमा मानिन्छ। रिजालको खोरमा अहिले ठूला (माउ) बाख्रा १९, बोका ७ र पाठापाठी ७ वटा रहेका छन्। रिजालसँग ५० वटा बाख्रा अट्ने क्षमताको खोर रहेको छ। यस वर्ष माघ महिनासम्म बाख्रा बिक्री गरेर साढे १५ लाख रुपियाँ आम्दानी भएको रिजालले बताउनुभयो।

कृषक रिजालले बोयर जातको एउटा बोकाको मूल्य न्यूनतम १८ हजारदेखि तीनलाख रुपियाँसम्म पर्ने बताउनुभयो। उहाँले अहिलेसम्म बोयरको एउटा बोकालाई तीनलाख रुपियाँमा बिक्री गरेको बताउँदै उक्त बोको ९६ किला भएको जानकारी दिनुभयो।

निजी कम्पनीमा कति काम गर्ने भन्दै जागिर छाडेर व्यावसायिक बाख्रापालनमा लागेका कृषक रिजालको गोठमा देशका विभिन्न जिल्लाबाट व्यापारीहरू बाख्रा खरिद गर्न आउने गरेका छन्। बोयर जातको बाख्रालाई उत्कृष्ट मानिने भएकाले व्यापारी पनि बोयरको उत्पादन खरिद गर्न खोजी–खोजी आउने हुँदा बोयर जातको बाख्रापालनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो।

व्यावसायिक बाख्रापालनको थालनी गरेका कृषकले रिजालले बाख्राको घाँसका लागि ३६ रोपनीको जग्गामा जैं–घाँस लगाउनुभएको छ। जैं–घाँसका साथै डाले घाँसको बिरुवासमेत रोपेका उहाँले खेतबारीमा खनिउ, रायखन्यु, निमारो, चुलेत्रो, दुधिलो, टाँकी, बेडुलो, सुपरनेपियर र सेतरिया जातको डाले घाँसका विरुवाको खेती गर्नुभएको छ।

उहाँले १६ सयवटा डाले घाँसका विभिन्न जातका विरुवा लगाएको जानकारी दिनुभयो। भुइँ घाँस सिँचाइका लागि पोखरीसमेत निर्माण गरेको कृषक रिजालको भनाइ छ।
बाख्रापालन व्यवसायमा सक्रिय रिजाल सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेका छन्। जिल्ला बाख्रापालन व्यवसायी संघका उपाध्यक्ष रहनु भएका रिजाल स्थानीय भूमे आधारभूत विद्यालय काफलबोटको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निलोपहरा सामुदायिक वन समूहका सदस्य हुनुहुन्छ।