दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी लगातार तेस्रोपटक विजयी

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतको राजधानी दिल्लीको विधानसभा चुनावमा आम आदमी पार्टी (आप)ले दुई तिहाइसहितको बहुमत हासिल गर्दै पुनः एकपटक राजधानी कब्जा गर्न सफल भएको छ।७० सिटको विधानसभामा आप ६२ सिटमा विजयी बनेको छ।

राजनीतिक रुपमा महत्वपूर्ण मानिएको राजधानीको चुनावमा यसपटक बहुमत हासिल गर्ने दाबी गरिरहेका भारतका सत्तारुढ दलले मात्र ८ सिट हासिल गरेको छ। यद्यपि भाजपाका लागि यो संख्या यसअघिको विधानसभा चुनावको भन्दा ५ सिट बढी हो। भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले योपटक पनि कुनै सिटमा जित्न सकेन।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरी वाललाई दिल्ली विधानसभा चुनाव जितेकोमा बधाई दिएका छन्। मोदीले आफ्नो ट्विटमा आप पार्टी र अरविन्द केजरीवाललाई सम्बोधन गर्दै दिल्लीका जनताको चाहनालाई पूरा गर्न सकून भन्ने कामना पनि गरेका छन्।

प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टीका लागि राजधानीको यो नतिजा ठुलो धक्काका रूपमा लिएको छ। भाजपा नेतृत्वको एनडीएले विगत दुई वर्षमा सात राज्यमा सत्ता गुमाइसकेको छ। दोस्रो पटक मोदी सरकार बनेपछि ४ राज्यमा चुनाव भयो, जसमा तीन चुनावमा भाजपा हारे।

दिल्लीको पछिल्लो चुनावमा ३ सिट मात्र जित्ने भाजपाले यो पटक राम्रो नतिजा ल्याउने अपेक्षा गरेको थियो। चुनावी नतिजाले यो अनुमान गलत साबित भयो। दिल्लीसहित भारतका १२ राज्यमा अहिले पनि भाजपा विरोधी दलको सरकार छ। एनडीएसँग १६ राज्यमा सरकार छ। ती राज्यमा ४२ प्रतिशत आवादी रहेको छ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको महाराष्ट्र, राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, पन्जाब, पाण्डुचेरीको सरकारमा छ। गत डिसेम्बरमा भएको चुनावमा झारखण्डमा सरकार बनेपछि कांग्रेसको सरकार रहेको राज्य ७ पुगेको छ। दिल्लीमा आम आदमी पार्टीले लगातार तेस्रो पटकको जितेको हो।

पश्चिम बंगालमा तृणमूल कांग्रेस, केरलामा माकपा नेतृत्वको गठबन्धन, आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेस, उडिसामा बिजद र तेंगानामा टीआरएस सत्तामा छन्।अर्को राज्य तमिलनाडुमा भाजपाले अन्नामुद्रकसँग मिलेर लोकसभा चुनाव लडेको थियो तर राज्यमा उसको एक पनि विधायक छैन। त्यसैले भाजपा सत्तामा सहभागी छैन।

सन् २०१७ मा एनडीए राम्रो स्थितिमा थियो। भाजपा र उसको सहयोगी दलसँग १९ राज्य थियो। एक वर्षपछि भाजपाले तीन राज्य मध्यप्रदेश, राजस्थान, छत्तिसगढमा सत्ता गुमाएको थियो। ती राज्यमा अब कांग्रेसको सरकार छ।

चौथो राज्य आन्ध्र प्रदेशमा भाजपा र तेदेपा गठबन्धनको सरकार थियो। सन् २०१८ मातेदेपाले भाजपाको गठबन्धन तोडेको थियो। सन् २०१९ मा भएको विधानसभा चुनावमा उक्त राज्यमा वाईएसआर कांग्रेसरले सरकार बनाए। पाँचांै राज्य महाराष्ट्रमा चुनावपछि शिवसेनाले एनडीएको साथ छोड्यो र हालै मात्र कांग्रेस–राष्ट्रिय कांग्रेस पार्टीसँग मिलेर सरकार बनाए। त्यसपछि झारखण्डमा पनि भाजपाले सत्ता गुमाइसकेको छ जहाँ कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनको सरकार बनेको छ।