सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तीव्र

0
Shares

विमल विष्ट, डोटी।

‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौं समुन्नत डोटी’ भन्ने मूलनाराका साथ नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाको दीपायलमा आयोजना गरिन लागेको प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्ररूपमा भइरहेको छ।

डोटी चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव हेर्न आउने दर्शक तथा पर्यटकको स्वागतका लागि जिल्लाको दीपायल, पिपल्ला, द्वारीखोला, एअरपोटलगायतका ठाउँहरूमा स्वागत गेटहरू धमाधम निर्माण गरिन लागेका छन् भने महोत्सवस्थलमा स्टेज, चर्खा, रोटेपिङ, बालउद्यान, मौतका कुवाँलगायतका मनोरञ्जनका खेलहरू धमाधम निर्माण हुन लागेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार महोत्सवका तयारीका क्रममा मञ्च व्यवस्थापन, गेट निर्माण, स्टल निर्माण, कलाकारहरूको छनोट, प्रचारप्रसार, अतिथिहरूलाई निमन्त्रणा गर्नेलगायतका कार्य धमाधम भइरहेको छ।

महोत्सवको अन्य आकर्षणका रूपमा यस वर्षको मुख्य आकर्षक प्याराग्लाइडिङ, सेती नदीमा जलयात्रा, डोटीका स्थानीय खानाका परिकार, रमाइलो मेला, छलिया, हुड्के, स्थानीय झाँकी, घरेलु उत्पादन प्रदर्शनी र बिक्रीवितरण, कृषि प्रदर्शनी रहने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र जिल्लामा भएका स्थानीयस्तरका कलासंस्कृतिहरू देशविदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरेका छौं, यहाँका कलासंस्कृति देशविदेशमा चिनाउने छौं।’

त्यस्तै उक्त महोत्सवमा छिमेकी मुलुक भारतका नागरिकले आफ्नो कलासंस्कृति प्रदर्शन गर्नुका साथै पञ्जाब शहरको मुख्य आर्कषणका रूपमा रहेको पञ्जाबी भाङणा नाचसमेत प्रस्तुत गर्नका लागि सम्झौता भएको चेम्बरका सदस्य रामबहादुर विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महोत्सवमा पञ्जाबको उत्कृष्ट नाच भाङणा नाच प्रदर्शन गर्ने सहमती भएको छ, आशा छ उक्त नाचले दर्शकलाइ निकै मनोरञ्जन दिनेछ।’
आउँदो फागुन १ देखि १३ गतेसम्म उक्त महोत्सव सञ्चालन हुने भएको छ।

महोत्सवको उद्घाटन सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुहुने कार्यक्रम तय भएको डोटी चेम्बर अफ कमर्सले जनाएको छ। महोत्सव दीपायलको दिल्पेश्वर मठमा सञ्चालन हुने भएको छ।

यतिमात्र नभई महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको पनि प्रस्तुतिसमेत रहने अध्यक्ष साउदले जानकारी दिनुभयो। उहाँका अनुसार दीपायलको तिखा क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरिनेछ। प्याराग्लाइडिङबाट दीपायल, सिलगढी, सेती नदीको दृश्यावलोकन गर्न सकिनेछ।

महोत्सव अवधिमा जिल्लामा कम्तीमा पनि १ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको अध्यक्ष साउदले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘महोत्सव अवधिमा सेती नदीमा जलयात्रा र तीखो अग्लो डाँडाबाट प्याराग्लाइडिङ हुने भएकाले यो वर्ष अधिक पर्यटक र दर्शक अवलोकनका लागि आउनेछन् र जिल्लाको प्रचारप्रसारसँगै आम्दानी पनि हुनेछ।’

सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई पूर्णरूपमा सफल पार्नका लागि पनि महोत्सवको आयोजना गरिएको सो संस्थाका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हाम्रो उद्देश्य भनेको महोत्सव आयोजना गर्ने मात्रै होइन, नेपाल भ्रमण वर्षलाई सफल पार्नु पनि हो, सबैको सुझाब र सहयोग आवश्यक छ।’