ग्लोबल आइएमई बैंकद्वारा क्रिकेट रंगशालालाई एक करोड सहयोग


ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपियाँ सहयोग प्रदान गरेको छ। रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको जनाएको छ।

राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग आफू सहभागी भएको बैंकले जनाएको छ।यसैबीच बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागि ५ लाख रुपियाँ सहयोग गरेको छ।

ग्लोबल आइएमई बैंक इटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको छ।