‘रोजगार र शिक्षा नेपालमै सम्भव छ’: प्रधानसेनापति थापा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो व्यक्तित्व र सफल जीवनका लागि नेपालमै सम्भव भएको बताउनु भएको छ । ‘नेपालमा थुप्रै रोजगारका अवसर छन्, नेपालमै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु छन्’– प्रधानसेनापती थापाले भन्नुभयो–‘अवसर र शिक्षा दुवै उदेश्यले विदेशिनु पर्दैन ।’

जिल्लाको उत्कृष्ट शैक्षिक गन्तब्यको नमुना बनेको बेलर इन्टरनेशनल स्कुलले आयोजना गरेको खेलकुद सप्ताह, नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले लगनशिल र परिश्रम सफलताको पहिलो सुत्र भएकाले यहि सुत्र मार्फत अगाडी बढ्न सके लक्ष्य प्राप्ती हुने बताउनु भयो । ‘जीवनमा सफल बन्न जरुरी छ, असल बन्न चुनौती छ’– प्रधानसेनापति थापाले भन्नुभयो–‘राष्ट्रले खोजेको अनुशासित कर्णधार ब्यक्तित्व निर्माण गर्न विद्यार्थीहरुको भविश्य शैक्षिक गुणस्तरसँगै अतिरिक्त कृयाकलापको प्रस्तुती बहुआयामिक ढंगले प्रस्तुत गर्न सक्नु पर्छ ।’ दक्ष, अनुशासित, लगनशिल विद्यार्थीहरुको उत्पादनले मात्र मुलुकले खोजेको समृद्ध प्राप्त गर्न सक्ने उहाँले बताउनु भयो ।

विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने रामकुमार बस्नेत, श्याम मुनाल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष सहकुल थापा, खेलाडी राम श्रेष्ठ, शिक्षक शिक्षिकाहरु लक्ष्मी थापा, रवि भट्टराई, विजय सिं मुस्याजु, अनिषा बैद्य, पुर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयले किड्स क्यास्टल, उच्च मावी, दिपिका क्याम्पस संचालन गरी १ हजार ९ सय विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ । विद्यालय भित्रको शैक्षिक वातावरण उत्कृष्ट रहेको भन्दै विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले विद्यालयलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । ‘भुतपुर्व सैनीक तथा सेनाको जागिर छाडेर विदेशिने क्रम रोक्न नेपाली सेनाले ३० हजार भुतपुर्व सैनीक तथा उनका परिवारलाई रोजगारको अवसर सिर्जना गरेको छ’–थापाले भन्नुभयो–‘पैसा र प्रतिष्ठा एकै साथ कमाउन परिश्रम, मेहनत र नैतिकता आवश्यक छ ।’ विद्यार्थीहरुले जीवनलाई सहज बनााउन हरेक क्षेत्रलाई चुनौतीपूर्ण रुपमा लिएर अगाडी बढ्न उहाँले सुझाव दिनु भयो ।

‘प्रयासरत ब्यक्ति असफल हुन सक्छ, असफलताबाट शिक्षा लिएर मात्रै अगाडी बढ्न सकिन्छ’–उहाँले भन्नु भयो–‘जीवनमा असफलता नै सफलताको पहिलो सिंढी हो ।’ सपना देख्ने, सपनलाई विपनामा परिणत गर्न परिश्रम र नैतिकता आवश्यकता भएकाले बालबालिकाहरुले विद्यार्थी जीवन देखि नै यहि कुरा सिक्नु पर्ने उहाँले बताउनु भयो । ‘विजयी बन्न चाहनेले हरेस खाँदैन, हात खुट्टा छाड्नेले सफलता प्राप्त गर्दैन’– प्रधानसेनापति थापाले भन्नुभयो–‘अनुशासन सफलताको खुट्किलो हो ।

अनुशासित नागरिक बन्न सहयोग पुर्‍याउने उदेश्यले विद्यालयमा एनसिसि क्याडेट तालिम शुरु गरिएको हो ।’ समयको महत्व बुझ्न र अनुशासनलाई बोली र ब्यवहार दुबै क्षेत्रमा लागु गर्दै देशभक्त नागरिक बन्न विद्यार्थीहरुलाई सुझाव दिनु भयो । ‘नेपाली सेनाले राष्ट्रको एकिकरणका समयमा प्रयोग गरिएका पदमार्गहरुको संरक्षण, इतिहासको जगेर्ना, धर्म र संस्कृतिको रक्षा गर्दै अगाडी बढेको छ’–उहाँले भन्नुभयो’–‘जसले इतिहास, नेपालको भाषा, संस्कृति, पहिचानको संरक्षण गर्दैन उसले नेपाल आमालाई भुलेको हुन्छ ।’

अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल विद्यालयले गुणस्तरीय शिक्षासँगै ब्यवहारीक, नैतिकवान, अनुशासित बालबालिकाहरुको उत्पादन गर्दै अतिरिक्त कृयाकलापबाट विद्यार्थीहरुमा भएको बहुआयामिक प्रतिभाहरुको प्रस्फुटन गराईरहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पनालाई शिक्षाको गुणस्तरले मात्रै सम्बोधन गर्ने भएकाले बेलर स्कुलको भूमिका सहनिय रहेको बताउनु भयो ।

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, विद्यालयका प्रवन्ध निर्देशक पवनकुमार थापा, प्रिन्सिपल इन्दु थापा, शिक्षक कृष्णहरी हुमागाईले विद्यालयको गतिविधिले समाजमा पारेको प्रभावका बारेमा धारणा राख्नु भएको थियो । साताब्यापी खेलुकद कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल लगायत विभिन्न विद्याहरु समावेश गरिएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिनु भयो ।