ग्लोबल आइएमई बैंकको दोस्रो त्रयमाससम्ममा सवा २ अर्ब नाफा


ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको दोस्रो त्रयमाससम्ममा २ अर्ब १४ करोड रुपियाँ खुद मुनाफा गरेको छ। उक्त नाफामा साविकको जनता बैंक नेपालको मंसिर १९ गतेसम्मको नाफासमेत समावेश भएको छ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिई गत मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो। मर्जरपश्चात् बैंकको प्राथमिक पुँजी २४ अर्ब ८७ करोड, कुल पुँजी २८ अर्ब १६ करोड, कुल निक्षेप २ खर्ब १३ अर्ब र कर्जा तथा ऋण लगानी १ खर्ब ९८ करोड भन्दा बढी पुगेको छ।

बैंकले हाल देश तथा विदेशमा रहेका ८१७ शाखा तथा सेवा सञ्जालमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

हाल बैंकले २७० शाखा, २५७ एटीएम, ३८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र २४९ शाखारहित बैंकिङ सेवामार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको छ।बैंकले चालू आर्थिक वर्षमा थप ५९ शाखासहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

यसैबीच ग्लोबल आइएमई बैंकले काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउन्टर शुरु गरेको छ।सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन काउण्टर शुरु गरेको हो।