मीराले औंठी साटेर मनाइन् प्रेम सम्बन्धको ५०औं वर्षगाँठ



विदुर गिरी

नेपालकी आशा भोस्ले, स्टेज क्विन, पहिलो नेपाली क्याब्रे गायिकाजस्ता उपमा पाएकी गायिका, संगीतकार तथा गीतकार मीरा राणाले शुक्रबार एक भव्य समारोहका बीच ५०औं प्रेम वर्षगाँठ मनाएकी छिन्।उनले बालुवाटारस्थित अमरपाली पार्टी प्यालेसमा पति उदयजंग राणासँग औंठी साटासाट गरी प्रेम सम्बन्धको ५०औं वर्षगाँठ मनाएकी हुन्।

पण्डितको मन्त्रोचारणसँगै मीरा दम्पतीले खुसी साट्दै प्रेम सम्बन्धको वर्षगाँठ मनाए। मीराले पतिलाई लगाइदिएको औंठी उनको कान्छो छोराले उपलब्ध गराएका थिए भने पतिले उनलाई लगाइदिएको औंठी जेठो छोराले उपलब्ध गराएका थिए। उनीहरूले स्वयंवरजस्तै एकअर्कालाई दुबोको माला पनि पहिराएका थिए। मीरा दम्पतीले प्रेम सम्बन्धको ५०औं वर्षगाँठको केक पनि काटेका थिए।

समारोहमा गीत, संगीत र अभिनय क्षेत्रका कलाकर्मीका साथमा मीरा दम्पतीको आफन्त र इष्टमित्र सहभागी थिए। मीराले समारोहमा प्रत्यक्ष वाद्यवादनका साथ आप्mना केही लोकप्रिय गीत गाएर सुनाएकी थिइन् भने विभिन्न गायक–गायिकाले पनि गीत, संगीत प्र्रस्तुत गरेका थिए
२००८ साल असोज महिनाको विजया दशमीका दिन कमलपोखरीमा जन्मेकी ६८ वर्षीया गायिका राणाले प्रेम सम्बन्धको दुई वर्षपछि २०२८ साल मंसिर ४ गते उदयजंग राणासँग विवाह गरेकी थिइन्।मीराको सांगीतिक करियका प्रसंगहरू जत्तिकै व्यक्तिगत जीवन पनि रोचक छ।

उनको प्रेम र दाम्पत्य जीवन त्यस्तै रोचक छ। मीरा सधैंजसो एक दिन पुलिस क्लबबाट रिहर्सल गरेर घर फर्कन साँझा बस चढिन्। नागपोखरी पुगेपछि पैसा दिइन्, तर कन्डक्टरले लिन मानेन। ‘नानीको पैसा त भइसक्यो’ भन्यो। मीराले त्यो मान्छेलाई बसमा बसेको देखिनन्, बरु तल बसेर हातमा दुई टिकट लिएर उभिएको देखिन्। सायद उदयजंग राणा उनैलाई टिकट देखाउन उभिएर हाँसिरहेका थिए। ‘मलाई अचानक डर लाग्याजस्तो भयो।

प्रत्येक दिन रिहर्सलमा जान्थें। २०/२२ दिनपछि कमलपोखरीबाट गाडी चढेको देखें। थरथर काम छुट्यो। दुवै जना शहीदगेटमा ओर्लियांै, तर बोलचाल भएन। मनमा अनौठो भइरह्यो। घरमा भन्ने कुरा भएन। रातभरि निद्रा लागेन। एक दिन कुमार बस्नेत दाइलाई भेट्न सञ्चय कोष जाँदा उसलाई फेरि भेटें। कुमार दाइकहाँ उसैले लिएर गयो।

त्यहींको जागिरे पो हुनुहुँदो रहेछ’, मीराले सम्झिइन्– ‘त्यसपछि बोलचाल शुरू भयो। दुई वर्ष घुमघाम भयो। सम्बन्ध बढ्दै गयो। उहाँकी दिदीले लिपिस्टिक स्वीटर पनि लिएर आउनुभयो। मलाई हेर्नका लागि रञ्जनामा फिल्म हेर्न पनि बोलाइयो। सबै कुरा मिल्यो। तर बिहेचाहिँ मुम्बईमा भयो।’

उदय र मीरा बिहे गर्नका लागि घरबाट भागे। उदयकी दिदी मुम्बईमा बस्थिन्, बिहे उनैले गराइदिने भइन्। त्यसैले सीमा पार गर्ने योजना बुन्दै बस चढे। बस कतै रोक्यो कि प्रहरीले समात्छ कि भनेर सिटमुनि लुक्दै रक्सोलसम्म पुगे।

रक्सोल त पुगे, सीमामा प्रहरीको फन्दामा पर्ने डरले एउटी महिलाको छोरा बुहारी बनेर टाँगा चढे। मजफुर पुगेपछि आपत् आइलाग्यो। मुगल सरायामा चिया पिउँदै गर्दा गाडी चलेको भन्ठानेका उनीहरूले लिकमा राखेको थाहै पाएनन्।

चोर लागेर सबै यात्रुको सामान सखाप। धेरैजसोको त टिकटसम्म नभएर बिजोग भयो। मीराले चाहिँ सारीको फेदमा टिकट बानेकाले अगाडिको यात्रा बढाउन पाए। ‘सबैले माया गरेर लैला–मज्नु भने खाना खाजा खुवाए र दिज्युकहाँ पुग्यौं। महालक्ष्मी मन्दिरमा बिहे भयो।’ –मीराले खुलाइन्।

बिहे हुँदासम्म पनि मीरा र उदयलाई एक अर्काका विषयमा सबै कुरा थाहा थिएन। उदय नेसनल कलेजमा पाण्डव सुनुवार, विश्वम्भर प्याकुरेललगायतका सहपाठी थिए। उनी गीत पनि गाउँथे। मुम्बईबाट फर्केर घर आएपछि एकदिन उदयले मैतालु छोरीको बैंस जाग्यो गाएर सुनाएपछि बल्ल भेद खुल्यो।

घरमा गन्धर्व ल्याएर संगीत सिक्ने प्रयास गरेका बाँसुरी बजाउँदै आएका उदयको गायन कलाबारेको भेद खुलेपछि मीराले पनि आफू गायिका भएको भेद खोलिन्। ‘ल एउटै घरमा दुई जनाले गाउने कुरा हुँदैन। त्यसैले आजबाट तिमी गाउने म हेल्प गर्छु भनेर गाउन छोड्नुभयो र सधैं मलाई सपोर्ट गरिरहनुभयो।

माइती हुँदा बुबा, घर आएपछि उहाँले गर्दा नै म गायिका हुन सम्भव भयो। उहाँ मभन्दा दुई वर्षअगाडि नै रिटायर्ड हुनुभयो। रिटायर्डपछि पनि पहिले जागिर हुँदा अफिस र अहिले कार्यक्रम र रेकर्डिङ भएको ठाउँमा छोड्ने र लिन आउने गर्नुहुन्छ।’ –मीराले भनिन्।

१४ वर्षकै उमेरबाट गीत गाउन शुरू गरेकी मीरालाई आफ्नो एकल एल्बम निकाल्न भने आधा शताब्दीभन्दा बढी समय लाग्यो। १ हजार ७ सयभन्दा बढी गीत गाएकी उनको कलेक्सन एल्बम बेलाबेलामा आए पनि एकल एल्बम भने गत २०७२ सालमा मात्र सार्वजनिक भयो।

मीराको करियर

२०२२ साल रेडियो नेपाल प्रवेश
२०२२ साल रेडियो नेपालमा मबीबी शाहको नसिब कहाँ कसको उही हुन्छ र हुँदैन गायन
२०२६ साल रेडियो नेपालमा पहिलो गीतस्वरूप चिरेर मुटु यो तिमीले के पायौ रेकर्ड
२०२८ साल रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार
२०२९ साल नेवारी गीत प्रतियोगितामा प्रथम
२०३२ साल विदेशमा पहिलो कार्यक्रमस्वरूप जर्मनबाट सांगितीक भ्रमण
२०४२ साल गोरखा दक्षिण बाहु चौथाबाट विभूषित
२०४४ साल राष्ट्रिय खेलकुद परिषद्को सदस्य
२०४५ साल रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम
२०५२ साल रेडियो नेपालको आधुनिक संगीत प्रतियोगितामा संगीतकारका रूपमा प्रथम पुरस्कार
ओमी कला केन्द्रको संस्थापक अध्यक्ष
२०५३ साल छिन्नलता गीत पुरस्कार
२०५८ साल नेपाल सांगीतिक संघको अध्यक्ष
२०६३ साल भुपालमान सिंह प्रज्ञा परिषद् संगीत पुरस्कार
नेपाली कम्युनिटी एटलान्टाबाट सम्मान
२०६६ साल असोज १९ रेडियो नेपालको जागिरबाट अवकाश
२०६७ साल नातिकाजी संगीत पुरस्कार
२०७० साल अमेरिका नेपाल फ्रेन्डसिप सोसाइटी न्युयोर्कबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड
सन् २०७१ साल इन्टरनेसनल नेपाली लिटरिटी सोसाइटी फ्लोरिडाबाट सम्मान
२०७२ साल भीमविराग संगीत साहित्य प्रतिष्ठानद्वारा १ लाख रुपियाँ नगदसहित बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार

प्रतिक्रिया दिनुहोस्