शेख हत्या प्रकरण : ढुङ्गाले हानेर हत्यापछि संवेदनशील अङ्ग काटेर जलाइयो

0
Shares

न्युज अफ नेपाल, झापा ।

मादकपदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा उनीहरुले भारतको अररिया– ४९ वर्षीय हसन मोहल्ला घर भई विगत १० वर्षदेखि उक्त क्षेत्रमा बस्दै आएका ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरेका थिए ।

शेखको संवेदनशील अङ्ग काटिएको अवस्थामा जलेको शव फेला परेको थियो । सँगै बसेर मादक पदार्थ सेवन गरिरहेका बेला शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेपछि उक्त घटना घटेको प्रहरीले जनाएको छ । मातिएका उनीहरुले रिसको आवेगमा शेखलाई ढुङ्गाले हानि संवेदनशील अङ्ग काटेर जलाएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले उनीहरुको साथबाट चक्कु, लाइटर, मृतकको लेनोभो कालो रङको मोबाइल, रगत लागेको लक्ष्मणको भेस्ट र चुरोटका ठुटाहरु बरामद गरेको छ ।