हिउँ पन्छाउन डोजर लिएर वडाध्यक्ष निस्केपछि…



दुर्गाप्रसाद शर्मा, पर्वत।

तीनपटक सम्म परेको हिउँले झन्डै एक महिनादेखि बन्द रहेको छिमेकी चीनसँग सिमाना जोडिएको मुस्ताङको कोरल्ला नाका जोड्ने मुख्य राजमार्गको हिउँ पन्छाउन शुरू गरिएको छ।

लामो समयसम्म पनि हिउँ नपग्लिएका कारण यातायात नै ठप्प भएपछि डोजरको सहायताले लोघेकर दामोदर कुण्ड गाउँपालिका–१ चराङदेखि माथिल्लो भागमा रहेको हिउँ फाल्ने काम शुरू भएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिका वडाध्यक्ष टाइधुन्टु ठकुरीले आफंै डोजरमा अपरेटरको काम गर्दै हिउँ पन्छाउन थाल्नुभएको छ।डोजर चलाउँदै आएका अपरेटर बिदामा गएका तर सडक सुचारु गराउनैपर्ने अवस्था रहेका कारण आफैंले डोजर चलाएर सडकको हिउँ पन्छाउने काम गरिरहेको ठकुरीले बताउनुभयो।

‘एक महिनादेखि गाडीहरू चल्न सकेका थिएनन्। सडक ठप्प भएको छ। बाटोमा बाक्लो हिउँ परेको छ’ उहाँले भन्नुभयो ‘के गर्नु त नि डोजरको ड्राइभर बिदामा भएकोले म आफैंले डोजर चलाएर हिउँ फाल्दै छु।

वडाध्यक्ष ठकुरीका अनुसार मौसममा सुधार आएपछि घाम लागेको भए पनि हिउँको तह बाक्लो रहेका कारण डोजर नै लगाएर पन्छाउनु परेको हो। बिहीबार दिउँसोसम्म लो घेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ खोलादेखि चराङसम्म दुई किलोमिटर सडकका विभिन्न भागमा जम्मा भएको हिउँ पन्छाई सकिएको छ।

चराङसम्मको बाटो सफा भएपछि लोमान्थाङ गाउँपालिका ५ लोमान्थाङसम्मको सडकमा हिउँ पन्छाउने काम भइरहेको छ। शुक्रबार दिउँसोसम्म लोमान्थाङसम्मको बाटो सञ्चालनमा आउने अपेक्षा रहेको उहाँले बताउनुभयो।

घाम लाग्न थालेपछि उत्तरी मुस्ताङमा पर्यटक जाने भएका कारण बन्द भएको सडक खुलाउने काम गर्नुपरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ‘अब हिउँ पर्न बन्द भएको छ भने पर्यटक आउने बेला प्रारम्भ हुन लागेको छ’ उहाँले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य पर्यटक धेरैका लागि रोजाइको गन्तव्य मुस्ताङ भएकोले सकेसम्म धमाधम काम गरेर मुस्ताङमा पर्यटक भिœयाउन आतुर छौँ।’

एक महिना बाटो नचल्दा पनि उपभोग्य वस्तु उपलब्ध हिउँका कारण सवारीसाधन ठप्प हुँदा मुस्ताङको जनजीवन कष्टकर हुँदै गएको थियो। लामो समयसम्म बाटो बन्द भए पनि मुस्ताङमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन भने मूल्य पनि बढ्दैन।

हरेक वर्ष जाडो याममा हिउँ पर्ने र बाटो बन्द हुने गरेका कारण मुस्ताङीले पहिले नै आवश्यक खाद्य वस्तु सञ्चय गरेर राखिरहेका हुन्छन्। दैनिक उपभोग्य वस्तुको बन्दोबस्त पहिले नै भएका कारण उनीहरूले सामान खरिद गर्दा चर्को मूल्य पनि तिर्नु नपर्ने मुस्ताङी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्