बस्ती पुनर्निर्माण परियोजनाका लागि विश्व बैंकले २२ अर्ब सहयोग गर्ने

0
Shares

काठमाडौं (नेस)।

विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपियाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ।

उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको नेपालस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभयो। उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा ८६ हजार घर निर्माणमा खर्च गरिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि देशीय निर्देशक हाडाड जेरभोसले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर बैंकले सहयोग गर्दै आएको बताउनुभयो।

उहाँले निर्धारित समयमा आवासीय भवन निर्माण हुने विश्वास व्यक्त गर्दै पुननिर्माण प्राधिकरणलगायत निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो।

सहसचिव नेपालले नेपालको आर्थिक–सामाजिक विकासका लागि नेपाल सरकारलाई बैंकबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो।